
काठमाडौँ । काठमाडौं महानगरले बन्द गराएको शैक्षिक मेला अदालतको आदेशले सुचारु हुने भएको छ । उच्च अदालत पाटनले काठमाडौं महानगरपालिकाले रोक लगाएको ”कान्तिपुर हिसान एडुफेयर’ शैक्षिक मेलामा हस्तक्षेप नगर्न आज अन्तरिम आदेश दिएपछि मेला सुचारु हुन लागेको हो।
न्यायधीश टेकप्रसाद ढुंगाना र रमेश ढकालको इजलासले दिएको आदेशअनुसार जेठ ३२ गतेदेखि अवरुद्ध बनेको शैक्षिक मेलालाई निरन्तरता दिने बाटो खुलेको छ ।
अदालतको आदेश सँगै आयोजक हिसानले शुक्रबार ८ गतेदेखि ३ दिनसम्म मेला सञ्चालन गर्ने जनाएको छ ।
जेठ ३२ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा शुरू भएको मेलामा सम्झौता विपरीत काम गरिएको भन्दै महानगरले बन्द गराएको थियो। मेलामा सम्झौता विपरीत शिक्षण शुल्कको विषयमा परामर्श गराएको र एसईईको रिजल्ट नै नआईकन कक्षा ११ को भर्ना फर्म भराएकाले मेला बन्द गराइएको महानगरको भनाई थियो ।









