काठमाडौं । राजधानी काठमाडौंमै आफुलाई धर्ती माताको संज्ञादिई बोक्सी भगाउने नाममा युवतीलाई कुटपिट गर्ने मातालाई प्रहरीले बोलाएको छ । एक साता अघि नेपाली सेनाको जंगी अड्डासँगै जोडिएको भद्रकाली मन्दिरमा युवतीमाथि याताना दिएको विषयमा अनुसन्धानका लागि प्रहरीले मातालाई बोलाएको हो ।
आफूलाई धर्तीमाताका रुपमा चिनाउने बुटवलकी विष्णु कुँवरले सार्वजनिक स्थलमै एक युवतीमाथि बर्बरतापूर्ण यातना दिएकी छिन् । कुँवरले भद्रकाली मन्दिरमा दर्शन गर्न गएकी एक युवतीमाथि बोक्सी भगाउने नाममा कुटपिट गरेकी हुन् । उनले ‘तँ को होस्, छिटो निस्की’ भनेर युवतीलाइ पिटेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ ।
पिडितको परिचय खुल्न नसकेकाले प्रहरीले पिडित पक्षलाई उजुरी दिनपनि आग्रह गरेको छ । कुँवरबाट पीडित महिलालाई नजिकैको प्रहरी कार्यालयमा सम्पर्क गरिदिन भनेकाे छ ।
पिडितले दिएको जाहेरी पछि कानुनी कारबाहीका लागि प्रहरीले अनुसन्धान अगाडी बढाउने बताएको छ । साथै प्रहरीले भिडियोमा देखिएको बाहेक अन्य कोही पीडित भए सम्पर्कमा आउनु अनुरोध गरेको छ ।
भिडियोमा युवती मात्रै नभई, दुई प्रहरी अधिकृत र अन्य सार्वसाधरणको भीड पनि देखिएको छ । तर, युवतीमाथि अन्याय हुँदा सबै रमिते बनेका छन् । प्रहरीले समेत केही गर्न सकेका छैनन् ।
माता भन्नेलाई नै अरुले पनि माला लगाएर सम्मान गरिरहेका छन् । राजधानी जस्तो शहरमै बोक्सीको नाममा युवतीलाई यसरी यातना दिइन्छ भने, देशमा अन्य ठाउँको अवस्था कस्तो होला ?
कानुनमा बोक्सीको आरोपमा अपमानजन्य व्यवहार गर्नेलाई ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना र क्षतिपूर्तिको व्यवस्था गरेको छ । कसुर गर्ने व्यक्तिबाट पीडित व्यक्तिलाई पुगेको क्षति वा पीडाबापत मानसिब क्षतिपूर्ति भराइदिनुपर्ने व्यवस्था पनि गरिएको छ ।
तर, यस्ता ऐन नियमको पालना र कार्यान्वय कस्ले ले कहिले गर्ने यो सबैको चासोको विषय बनेको छ ।









