
बुटवल । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले गणतन्त्रमाथि कसैबाट खतरा नरहेको बताएका छन् । आइतबार बुटवल पुगेका मन्त्री बास्कोटाले संचारकर्मीहरु भने, “जनताको बलिदान र कडा संघर्षबाट ल्याएको गणतन्त्रमाथि कसैबाट खतरा छैन र कहिल्यै हुन पनि सक्दैन, तर यसमाथि हमला गर्ने केहि तत्वहरु भने सक्रिय छन् । ”
समाजमा घट्ने साना तिना घटनालाई लिएर जनतामा भ्रम सिर्जना गर्ने र धमिलो पानीमा माछा मार्न खोज्ने प्रयास भने भइरहेको उनले बताए ।
युट्युब, फेसबुक लगायतका सामाजिक सञ्जालबाट जनमानसमा भ्रम फैलाउने काम भइरहेकाले त्यस्ता गलत कृयाकलापबारे सरकार सचेत रहेको समेत मन्त्री बास्कोटाले बताए । अहिले सामाजिक संजालमार्फत विभिन्न अपराध, गाली बेइजती र समाजमा भ्रम सिर्जना गर्ने गतिविधी भइरहेकाले त्यसलाई रोक्न सरकारले ऐन बनाइसकेको र छिट्टै पारित हुने उनको भनाई छ ।
“सामाजिक सञ्जालका माध्यमहरु पनि दर्ता गरेर मात्र चलाउनुपर्छ भन्ने पक्षमा सरकार अडिग छ उनले भने, विदेशमा पनि दर्ता भएरै चलेका छन्, नेपालमा नहुने भन्ने हुन्छ र ?”
हाम्रा भिडियो सामाग्री पनि हेर्नुहोस









