
चितवन । भरतपुर महानगरपालिकाले मेयर रेनु दाहालको चरित्र हत्या हुने गरी सामाजिक सञ्जालमा लेख्ने विरुद्ध जाहेरी दर्ता गरेको छ । सामाजिक सञ्जाल फेसबुकमा अश्लील पोष्ट गर्ने, श्रब्यदृश्य र स्टाटस राख्नेविरुद्ध महानगरपालिकाले जिल्ला प्रहरी कार्यालय चितवनमार्फत गृह मन्त्रालय र प्रहरी मुख्यालयमा साइबर क्राइमको जाहेरी दिएको हो ।
शनिबार चितवनमा ज्ञानेन्द्र शाहीमाथिको आक्रमणपछि सामाजिक संजालमा केही व्यक्तिले मेयर रेनु दाहालका तस्वीर जोडी अर्धनग्न तस्वीर, फेसबुक स्टाटस र फेक आइडी बनाई पोष्टसमेत गरेका थिए ।
चितवन प्रहरी प्रमुख दानवहादुर मल्लले महानगर प्रमुख दाहाललाई लक्षित गरी आएका अश्लिल पोष्टबारे जाहेरी आएको बताए । आवश्यक अनुसन्धान र गलत हर्कत गर्नेहरुको खोजि सुरु भइसकेको उनले बताए ।
मयेर दाहालकै निर्देशनमा शाहीमाथि आक्रमण भएको आरोप लगाउँदै उनीहरुले मेयर दाहालका विरुद्ध पोष्ट गरेका छन् । तर मेयर दाहाल भने जिल्लामा घटना हुँदा इन्डोनेसियामा भएको कार्यक्रम सहभागी भए काठमाडौं फर्किएकी थिइन् ।
विभिन्न समूह र व्यक्तिका नाममा मेयर रेनु दाहालको चरित्र हत्या गर्ने निकृष्ट र घृणित कार्य गर्नेविरुद्ध कानुनी कारवाहीका लागि माग गरिएको महानगरले जनाएको छ ।










