काठमाडौं । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहनको आरोपमा मुद्धा खेपिरहेका सञ्चारकर्मी रवि लामिछानेबारे उच्च अदालत हेटौडाको निर्णय बाहिर आएको छ ।
रविलाई विदेश जान अदालतको अनुमति लिनु नपर्ने जिल्ला अदालत चितवनको निर्णय उल्ट्याएको छ ।
बिहीबार उच्च अदालत पाटनको हेटौंडा इजलासमा मुद्धाबारे न्यायाधीश चण्डिराज ढकाल र महेन्द्रनाथ उपाध्यायको संयूक्त इजलासले यस्तो निर्णय गरेको हो।
रविमाथीको उक्त मुद्दामा चितवन जिल्ला अदालतले अन्तिम फैसला नभएसम्म अदालतको अनुमतिविना विदेश जान र घटनाका बिषयमा संचारमाध्यम र सार्वजनिकरूपमा बोल्न रोक लगाएको थियो ।
पत्रकार पुडासैनीको आत्महत्या दुरुत्साहन मुद्दामा मुछिएका रवि लगायत उनका सहकर्मी युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई प्रहरीले पक्राउ गरी पछि अदालतको आदेशमा धरौटीका रिहा गरेको थियो ।
अदालतले रविलाई ५ र कँडेललाई ३ लाख धरौटीमा छाड्न आदेश दिएको थियो भने अस्मितालाई शुद्ध तारेखमा छोडेको थियो । जिल्ला अदालतको उक्त आदेशविरुद्ध लामिछानेले उच्च अदालतको हेटौंडा इजलासमा पुनरावेदन गरेका थिए ।









