रास्वपाले आजदेखि पहिलोपटक वडा अधिवेशन गर्दै


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आजदेखि वडा अधिवेशन सुरु भएको छ । पार्टी स्थापनापछि पहिलोपटक वडा अधिवेशन हुन लागेको हो ।

सातै प्रदेशका एक एक वडाबाट आजदेखि वडा अधिवेशन आरम्भ भएको पार्टीको संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए । उनले वडा अधिवेशन, पालिका अधिवेशन र प्रदेश अधिवेशन गरेर क्रमशः राष्ट्रिय महाधिवेशनको तयारीमा रहेको बताए ।

रास्वपाले आज भरतपुर महानगरपालिका–११, जितपुर सिमरा उपमहानगरपालिका–२, पोखरा उपमहानगरपालिका–१०, बुटवल उपमहानगरपालिका–१३, इटहरी उपमहानगरपालिका–२०, भेरीगंगा नगरपालिका–६ र टीकापुर नगरपालिका–१ मा अधिवेशन गर्दैछ । सातै प्रदेशका ती वडाहरुमा रास्वपाले पार्टीका महामन्त्री एवं प्रवक्ता डा मुकुल ढकाल, सहमहामन्त्री एवं सांसद सुमना श्रेष्ठ, सहमहामन्त्री विपिन आचार्य, कोषाध्यक्ष लिमा अधिकारी, संगठन विभागका सचिव शंकर श्रेष्ठ र केन्द्रीय सदस्य विजय जैरुलाई विभिन्न वडामा केन्द्रीय प्रतिनिधिका रुपमा खटाएको छ।

प्रमख सचेतक परियारकाअनुसार रास्वपाको हालै सम्पन्न जलेश्वर बैठकबाट पार्टीको वैचारिक धार स्पष्ट भएको र त्यसलाई स्थानीय तहसम्म पुर्‍याउने मुख्य एजेण्डा रहेको छ ।

अधिवेशनले प्रत्येक वडामा एक सभापतिसहित ११ सदस्यीय वडा समिति गठन गरिने संगठन विभागका सचिव शंकर श्रेष्ठले बताए । ११ जनामध्ये कम्तीमा चार महिला सदस्य अनिवार्य रहनेछन्। चार जनामध्ये पनि एक जना अनिवार्यरुपमा दलित महिलाको व्यवस्था गरिएको श्रेष्ठले बताए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार