
चितवन । चितवन मेडिकल कलेजमा तोडफोड गर्ने १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । आक्रोषित भिडलाई नियन्त्रण गर्ने क्रममा ६ जना प्रहरी समेत घाइते भएका छन् ।
मेडिकल कलेजमा उपचारका क्रममा एक बिरामीको मृत्यु भएपछि आइतबार साँझ अस्पतालको अवस्था तनावग्रस्त बन्यो ।
नवलपरासीको मध्यविन्दु नगरपालिका–९ चोरमारा वसन्तपुरकी आशा ज्ञवालीको पिनासको उपचारको क्रममा अस्पतालमा निधन भएपछि तनाव भएको हो । आसाको असोज २७ गते नाकको शल्यक्रियापछि शनिबार दिउँसो चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। आसाको मृत्यु अस्पतालको लापरवाहीले भएको आफन्तको आरोप छ ।
त्यसपछि मृतका आफन्तले अस्पतालको आईसीयू, सीसीयू, अस्पताल परिसरको गेट लगायत अस्पतालका अन्य सामाग्रीहरु तोडफोड गरेको चितवन प्रहरीले जनाएको छ ।

आक्रोषित भीडलाई नियन्त्रण गर्न प्रहरीले ४० राउन्ड अश्रुग्यास प्रहार गरेको चितवनका प्रहरी प्रवक्ता एकनारायण कोइरालाले बताए ।









