बाँके । अत्याधुनिक पेस्तोलसहित तरुण दलका नेता बाँकेमा पक्राउ परेका छन् । अत्याधुनिक पेस्तोलसहित तरुण दलका नेपालगञ्ज नगर सभापति सन्दीपजङ्ग शाहसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
उनिहरुलाई जिल्लाको जानकी गाउँपालिकाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।इलाका प्रहरी कार्यालय, कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीको नेतृत्वमा खटिएको प्रहरी टोलीले जानकी गाउँपालिका–६, गनापुरस्थित नमस्ते रिसोर्टबाट गएराति करिब ९ बजे उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा शाहसहित दिनेश शाही, राघव शाह सानु, माधव नेपाली, जयबहादुर बुढा र प्रितम थापा मगर रहेका इलाका प्रहरी कार्यालय, कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए ।
उनिहरुको साथबाट अटोमेटिक पेस्तोल एक थान र दुई राउन्ड गोली लोड गरिराखेको म्यागेजिनसहित प्रहरीले नियन्त्रणमा लिइएको हो ।नेपालगञ्ज उपमहानगरपालिका–१३ निवासी तरुण दल नगर सभापति शाह निर्माण व्यवसायीसमेत हुन् ।









