काठमाडौं । खानेपानी तथा सरसफाइ मन्त्री विना मगरले आफु महिनावारी भएको कुरा दुई वर्षसम्म आफ्नी आमालाई नभनेको बताएकी छन् । आफ्नो समुदायमा महिनावारी बार्ने चलन नभए पनि आफु जन्मे हुर्केको समुदायका अरु महिलाले बार्ने भएकाले आफुले पनि राम्रोसँग अनुभव गरेको बताएकी छन् ।
मित्र समाजले काठमाडौंमा आयोजना गरेको अनुगमन प्रतिवेदन सार्वजनिक कार्यक्रममा बोल्दै उनले महिनावारी बारे आफ्ना अनुभव पनि सुनाएकी थिइन् । उनले भनिन् “मेरी आमाले मलाई तँ नछुने भयो भने भन् है, भन्नुहुन्थ्यो तर मैले दुई वर्षसम्म आमालाई भनिन् मन्त्री मगरले अनुभव सुनाईन, महिनावारीबारे मैले आमालाई भन्नु पर्छ भन्ने जरुरी नै ठानिन् ।”
मन्त्री मगरले आफ्नो घरमा महिनावारी नबार्ने भएकाले गाउँका अरु समुदायका महिलाहरु महिनावारी भएको बेला आफ्नो घरमा बस्न आउने गरेको अहिले पनि सम्झना रहेको बताइन् । उनले त्यतिबेला उनीहरुले सुनाएका कुराले आफुलाई अहिले पनि पीडा हुने बताएकी छन् ।
उनले महिनावारी नितान्त धर्म र संस्कारसँग जोडिएको विषय भएको बताएकी छन् । यसका लागि समाजिक रुपान्तणको आवश्यकता औल्याएकी छन् । उनले भनिन्, “यसलाई धर्म र संस्कृतिबाट अलग गरेर पाप र अछूतबाट छुटाउनु पर्दछ ।”
कार्यक्रममा मन्त्री मगरले महिनावारी स्वच्छता व्यवस्थापनसँग सम्बन्धित मुद्दाहरु अगाडी बढाउनका लागि मित्र समाजले तयार पारेको सञ्चार अनुगमन प्रतिवेदन सार्वजनिक गरेकी थिइन् ।

पूर्ण सरसफाईको क्षेत्रमा ठुलो उपलब्धि हासिल गर्न सफल भयौं
मन्त्री मगरले सरकारले देशलाई दक्षिण एसियाकै पहिलो खुला दिसामुक्त घोषणा गरेर पूर्ण सरसफाईका क्षेत्रमा ठुलो उपलब्धि हासिल गरेको दाबी गरिन् । उनले महिनावारीलाई व्यवस्थित र मर्यादित बनाउनका लागि देशभरका सरकारी स्कुलमा निशुल्क सेनिटरी प्याड वितरण गर्न लागेको पनि जानकारी गराइन् ।
यसका साथै सरकारले महिनावारीसँग सम्बन्धित जनचेतना फैलाउनका लागि स्थानीय सरकारसँग समन्वय गरिरहेको बताएकी छन् । सरकार एक्लैले गरेर नहुने भएकाले यसका लागि सहयोग गर्न सबै सम्बन्धित सरोकारवाला निकायलाई आग्रह समेत गरेकी छन् ।











