
चितवन । वेश्यावृति गराएको आरोपमा चितवनमा तीन जना पक्राउ परेका छन् । एक होटलको अण्डरग्राउण्ड कोठामा युवतीहरुलाई जर्वजस्ती यौन कार्यमा संलग्न गराएको आरोपमा तीन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा भरतपुर महानगरपालिका(२९ जुगेडीस्थित खोटाङ्ग सगरमाथा होटल एण्ड गेष्ट हाउसका सञ्चालक ५० वर्षीय जंगबहादुर क्षेत्री, ३९ वर्षीया निर्मला थापा क्षेत्री र सुनसरी धरान–८ लेटाङकी २४ वर्षीया रोशिका राई रहेका छन् ।
उनीहरुलाई प्रहरीले आज (सोमबार) पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।
काठमाण्डौंबाट हराएका भनिएका १४ वर्षीया र २२ वर्षीया युवतीहरुलाई होटलमा ल्याएर जर्वजस्ती यौन कार्यमा लगाएको अनुसन्धानबाट खुलेको चितवनका प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले जानकारी दिए ।
उनका अनुसार पक्राउ परेकी रोशिकाले ती युवतीहरुलाई काठमाडौंबाट फकाएर जुगेडीसम्म ल्याएकी थिइन् । काठमाण्डौंमा डेरा गरी बस्ने उनीहरु गत कात्तिक २८ गतेदेखि हराएका थिए । उनीहरुलाई चितवन ल्याएको आंशकामा प्रहरीले खोजी कार्य तीव्र पारेको थियो ।
प्रहरीले उनिहरुलाई मोबाइल फोनको लोकेसनमार्फत जुगेडीमा रहेको एउटा होटलमा बसेको बेला पक्राउ गरेको एसपी मल्लले बताए । एसपी मल्लका अनुसार पक्राउ परेका जंगबहादुर चेलीबेटी सप्लाई गर्ने गिरोहको नामुद नाइके हुन ।
पक्राउ परेका तीनै जनाविरुद्ध मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालतको अनुमति लिई अनुसन्धान प्रक्रिया अगाडि बढाइएको एसपी मल्लले बताए ।
कानूनमा मानिसलाई जबर्जस्ती वेश्यावृत्तिमा लगाउनेलाई १० वर्षदेखि १५ वर्षसम्म कैद सजाय र ५० हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।








