
काठमाडौं । सङ्घीय संसद्को हिउँदे अधिवेशन आजदेखि सुरु हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले दुवै संसद् (प्रतिनिधिसभा) र (राष्ट्रियसभा) को पाँचौँ अधिवेशन सुरु पुस ४ गते शुक्रबार अपरान्ह ४ बजे प्रारम्भ हुनेगरी गत मङ्सिर २५ गते आह्वान गरे अनुसार आज आजदेखि अधिवेशन सुरु हुन लागेको हो ।
सभामुखको पद रिक्त रहेका कारण अधिवेशन उपसभामुख डा शिवमाया तुम्बाहाङ्फेको अध्यक्षतामा प्रारम्भ हुने संसद सचिवालयले जनाएको छ ।
संसद सचिवालयकी एक महिला कर्मचारीमाथि बलात्कारको प्रयास गरेको आरोप लागेपछि पूर्वसभामुख कृष्णबहादुर महराले सभामुख पदबाट राजीनामा दिएसंगै उक्त पद रिक्त छ ।
रिक्त सभामुख पद पूर्ति हुन बाँकी रहेकाले आजको बैठकको अध्यक्षता उपसभामुख तुम्बाहाम्फेले गर्न लागेकी हुन् । बैठकको सुरुमा दुवै सदनमा राष्ट्रपति विद्यादेवी भण्डारीको संसद् आह्वानसम्बन्धी पत्र बाचन गरेर सुनाइने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ ।
प्रतिनिधिसभामा तुम्बाहाम्फे र राष्ट्रिय सभामा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसद तिमिल्सिनाले राष्ट्रपतिबाट प्राप्त पत्र वाचन गरेर सुनाउने छन् ।
आज पहिलो बैकमा के के हुनेछ
आज अधिवेशनको पहिलो बैठकमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र सभाध्यक्षले पढेर सुनाउनेछन् । यसबीचमा सरकारद्धारा गरिएका मन्त्रिपरिषद् पुनः गठनलगायत सरकारका महत्वपूर्ण कामबारेमा संसद्लाई जानकारी दिइनेछ ।
त्यसैगरी सत्ता र प्रतिपक्षी दलका सांसद्ले सार्वजनिक महत्व र जनजीवनका सवालमा ध्यानाकर्षण गराउनेछन् । त्यसैगरी, राष्ट्रिय सभाले विभिन्न चार जना पूर्व सांसदहरुको निधनमा शोक प्रस्ताव पारित गर्ने कार्यसूची पनि तय भएको जनाइएको छ ।
संसदीय प्रणालीमा जनताको आवाज सशक्तरुपमा राख्ने सार्वभौम थलोका रुपमा संसद्लाई लिइन्छ । संसद् (व्यवस्थापिका) को निर्देशन मान्नु कार्यपालिका (सरकार) को दायित्व ठानिन्छ ।
अधिवेशनलाई सरकारले ल्याउने विभिन्न विधेयको समय भनेर पनि लिइन्छ । हाल सरकारले लयार पारेका विभिन्न १५ वटा विधेयकहरु संसदीय समितिमा विचाराधीन छन् भने केही नयाँ विधेयक पनि दर्ता भएका छन् ।
प्रतिनिधिसभाबाट पारित भई राष्ट्रियसभामा दुई विधेयक विचाराधीन छन् । संसद्बाट पारित भएकामध्ये पाँच विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण हुन बाँकी छ । गत अधिवेशनमा प्रतिपक्षी दलको अवरोधका कारण कतिपय महत्वपूर्ण विधेयक प्रस्तुत भए पनि पारित हुन सकेका थिएनन् । जुन यस अधिवेशनबाट पारित हुने आशा लिइएको छ ।
यो अधिवेशनबाट बहुप्रतिक्षित नागरिकता विधेयक, सङ्घीय निजामति कर्मचारी विधेयक, राहदानी विधेयक, भूमिसम्बन्धी एकीकृत विधेयक जस्ता कानून पारित हुने सरकारको अपेक्षा छ ।
साथै अमेरिकी सहयोगको ‘एमसिसी’ सम्झौता अनुमोदनको प्रस्ताव पनि यही अधिवेशनमा प्रस्तुत हुनेछ । सङ्घीय संसद्को चौथो अधिवेशन २०७६ वैशाख १६ गते प्रारम्भ भई २०७६ असोज २ गते सम्पन्न भएको थियो ।









