
काठमाडौँ । रौतहटका दुई जनाको कोरोना संक्रमण पोजिटिभ देखिएको छ । जनकपुरमा परीक्षण गर्दा नेगेटिभ देखिएका उनीहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना पोजिटिभ देखिएको हो ।
लकडाउनको समयमै भारतबाट चोर बाटो हुँदै नेपाल प्रवेश गरेका उनीहरुको कोरोना परीक्षणका लागि स्वाब प्रादेशिक अस्पताल जनकपुर पठाइएको थियो । जनकपुरमा रिपोर्ट संकास्पद देखिएपछि पुनः परीक्षणका लागि काठमाडौँ पठाइएको थियो ।
तर उनीहरुको काठमाडौंमा परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको अस्पतालले जनाएको छ । एक जना देवाही बोनाही नगरपालिका वडा–१ का ३५ वर्षीय पुरुष र अर्को वृन्दाबन नगरपालिका वडा नम्बर–९ का २४ वर्षीय पुरुष रहेका छन् ।
चोरबाटो हुँदै आएका उनीहरुलाई चन्द्रपुरस्थित क्वारेन्टाइनमा राखिएको थियो ।











