लकडाउनले निभेको चुलो गान्धारीले बाल्दै


काठमाडौं । कोरोना भाइरस (कोभिड—१९) को जोखिम कम गर्न नेपाल सरकारले चैत ११ गतेदेखि देशव्यापी लकडाउन (बन्दाबन्दी) गर्यो । जुन बैशाख २५ सम्म जारी नै रहनेछ । कोरोना संक्रमण फैलिन नदिने एउटा महत्वपुर्ण विकल्प ‘लकडाउन’ भएकाले विश्वभर यसको प्रयोग भइरहेको छ । लकडाउनको अवधि बढ्दै र यसमा कडाई हुँदै गएपछि धेरैलाई कोरोनाको डर भन्दा पनि हातमुख जोर्ने कुराको चिन्ता बढ्न थाल्यो । त्यस्तो चिन्ता हुनेखानेलाई भन्दा पनि हुँदा खानेलाई बढि छ ।

एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्को तहसम्म जान रोक लगाइएपछि अधिकांस मजदुर तथा दैनिक ज्याला मजदुरीगरि खाने नेपालीको भान्सा बल्न छोड्यो ।

कतिपय सडकमा कसैले राहत दिन्छ की भनेर आउन थाले भने कतिले सरकारको उपस्थितिको प्रतिक्षा गरे । सरकारले सबै स्थानीय तहलाई परिपत्र गरि पहिलो चरणमा अति आवश्यक परेकालाई राहत वितरण त सुरु गर्यो । तर, गरिव, मजदुर तथा काठमाडौंका कोठा भाडामा बस्ने विपन्न सम्म राहात पुग्न सकेन । र, हजारौं नागरिकहरु काठमाडौं उपत्यका छोडेर एक हप्तासम्म हिंडेरै भएपनि गाउँ जान बाध्य भए ।

निभेको चुलो बाल्दै गान्धारी

हुँदा खानेहरुलाई मात्रै ‘लकडाउन’ कोरोना भन्दा ठुलो कहर बनेको छ। हुनेखानेहरु त दिनदिनै घरमा स्वाद फेरि फेरि परिकारहरु खाइनै रहेका छन् । तर, त्यस्ता केहि हुँदा खानेहरुको बल्न छाडेको चुलो बाल्न केदार गान्धारीले थोरै भएपनि ठुलो भुमिका खेलिरहेका छन् ।

काठमाडौंको ठमेलमा ‘समुदायमा आधारित सारङगी रेस्टुरेन्ट’ चलाइरहेका गान्धारीले लकडाउनको अवधिमा त्यस्ता विपन्न तथा देशभरि रहेका गन्धर्व समुदायको चुलो बाल्नमा सहयोग गरिरहेका छन् । लकडाउनमा हातमुख जोर्न समस्या भइरहेका त्यस्ता परिवारका लागि उनले केदार फुड्स क्याम्पको सुरुवात गरेर सहयोग गरिरहेका छन् ।

अहिले सोहि क्याम्पमार्फत गान्धारीले सारंगी सोसियल इन्टरप्राइजेज, गन्धर्व संघसंस्थाको सहकार्यमा करिब ३ सय बढी असाहाय तथा विपन्न परिवारलाई राहत वितरण गरेको जानकारी दिए ।

‘कहिले बिहानै ५ बजेनै फोन आउँछ अनि हतार हतार राहत पुर्याउन जान्छु, कहिले मध्यरातमा मोवाइलमा खान केहि छैन भनेर एसएमएस आउँछ’, गान्धारीले भने। राहत वितरणमा उनि आफुमात्रै होइन आफ्ना समुदायका विभिन्न पेशा व्यवसायमा काम गर्ने साथीहरुको साथमा अघि बढेको बताउछन् ।

आफ्नो राहात वितरण कार्यमा गन्धर्व सांस्कृतिक कला संगठनका अध्यक्ष पुजन गन्धर्व, संगठनका सचिव सन्तोष गन्धर्व, गन्धर्व समाज नेपालकी उपाध्यक्ष पम्पा गान्धारी, कोषाध्यक्ष अमृत गान्धारी, सदस्य सुवास गान्धारी, सुरेश गान्धारी तथा जिवन गायकले निरन्तर सहयोग गरिरहेको उनको भनाई छ ।

भुकम्पमा पनि सहयोग
पेशाले म्यूजिक थेरापिष्ट रहेका गान्धारीले २०७२ सालको महाभूकम्पमा पनि प्रभावित जिल्लाका भुकम्प पीडित विपन्न तथा गन्धर्व समुदायका लागि आर्थिक सहयोग जुटाएर प्रदान गरेका थिए।

‘सुरुमा यो झमेलामा नफसौं भन्ने लागेको थियो तर पछि विदेशमा रहेका केहि साथीहरुले निरन्तर सहयोग गर्ने बचन दिएपछि क्याम्पियन सुरु गरे । आज खुशी लाग्छ’, गान्धारीले भने।  दुख र अपठ्यारोमा परेकालाई थोरै भएपनि सहयोग गर्न सकियो भने समाजमा प्रेम र मानवताको अझे विकास हुने उनको अनुभव छ ।

“कलंकीको स्यूचाटारमा रहेकी दुई महिनाकी सुत्केरी माइली परियारको कोठामा सामान्य सहयोग लिएर जाँदा आँशु झार्दै धन्यवाद दिदा रातभरि निदाउ सकिन गान्धारीले सम्झे, मानिसलाई कयौं दुःखहरु हुन्छन् तर खान नपाउनु र बालबालीकाको भोक मेटाउन नपाउनुको महशुस त्यो घटनाले गरायो ।”

गोरखा घर भइ हाल काठमाडौंमा डेरा गरि बस्ने आर्थिक अबस्था कमजोर भएकी संगीता गायक प्रशव पिडाले टिचिङ हस्पीटलमा छट्पटिंदा गान्धारी उनका लागि भगवान सरह भए । आफुले सहयोग गरेर कुनै ठुलै काम नगरेको बताउने उनि केहि दयनिय अवस्थाका ब्यक्तिहरुलाई मानविय नाताले थोरै भएपनि सहयोग गर्दा निकै खुशी मिल्ने बताउँछन् ।

गान्धारीले गन्धर्व समुदायका परिवारलाई मात्रै नभइ विभिन्न समुदायका विपन्नलाई सहयोग गर्दै आएका छन् । कोरोनाका कारण देश एक महिना लामो लकडाउनको समय पार गरिसकेको अवस्थामा विद्यार्थी, बृद्ध, अपाङ्गता, अशक्त तथा मजदुरलाई खाद्यान्य दाल, चामल, तेल, नुन तथा अत्यावश्यक परेमा ग्यास समेत उपलव्ध गराइरहेको उनले जानकारी दिए।

उनले केदार फुड्स क्याम्प र गन्धर्व संस्थाको सहकार्यमा काठमाडौं, भक्तपुर, ललितपुर, दाङ, बाग्लुङ, गोरखा, लम्जुङ, तनहुँ लगायतका विभिन्न जिल्लामा यस बखत राहात सामाग्री सहयोग गर्दै आएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार