
काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या बढ्दै गएरहेको छ । शुक्रबार दुई जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ५९ पुगेको छ ।
शुक्रबार संक्रमण देखिएका बाँकेको नेपालगञ्जका ६० वर्षीया पुरुष एक महिनाअघि भारतको बहराइचबाट आएको खुलेको छ । मदरसा र मस्जिदमा नमाज पढाउने मुस्लिम समुदायका व्यक्ति भएकाले उनी भारत आवत जावत गरि रहन्थे ।
उनी कर्णाली अञ्चलको पाँचसय भन्दा बढी व्यक्तिसँगै एक महिनाअघि महेन्द्र वहुमुखी क्याम्पस नेपालगन्जको क्वारेन्टाइनमा बसेका थिए । क्वारेन्टाइनमा भागभाग भएपछि अरु घर तिर लागे भने उनी बहराइचतिर घुम्न गएका थिए ।
त्यहाँबाट फर्किएपछि कोरोना आशंकमा नेपालगञ्जमै पीसीआर जाँच गर्दा रिपोर्ट पोजिटिभ देखिएको हो । अहिले उनको अवस्था सामान्य रहेको बताइएको छ ।
त्यस्तै आजै कोरोना पोजिटिभ देखिएका रुपन्देहीका युवा पनि दुई साताअघि भारतबाट आएको पाइएको छ । जिल्लाको कोटहीमाई गाउँपालिका १ का २५ वर्षीय ती युवक बैशाख ५ गते चाेरबाटाे हुँदै घर फर्किएका थिए ।
लकडाउनको समयमा सम्मरीमाईको ठोटरी नाकाबाट आएका उनलाई दाइले घर नलगी मर्चबार आदर्श बहुमुखी क्याम्पसको क्वारेन्टाइन स्थलमा पुर्याएका थिए ।
अहिले पनि उक्त क्वारेन्टाइनमा अन्य १० जना बसिरहेका छन् । उनलाई कोरोना संक्रमण पुष्टि भएपछि आजै बुटवलको धागो कारखानास्थित कोरोना विशेष अस्थायी अस्पतालमा लगिएको बताइएको छ ।
उनीहरु दुबै जनाको परिवार र संम्पर्कमा आएका व्यक्तिहरुको परीक्षण गरिने बताइएको छ । दुबै जिल्लामा पहिलो पटक कोरोना संक्रमण देखिएको हो । संक्रमित दुबैको स्वास्थ्य अवस्था भने सामान्य नै रहेको अस्पतालले जनाएको छ ।










