महोत्तरीमा अज्ञात रोगबाट मर्नेको संख्या ११ पुग्यो, अझै रोग पत्ता लागेन

बल्ल गाउँ पुग्याे डाक्टरको टोली


महोत्तरी । महोत्तरीको भङ्गाहा र बर्दिवासमा अज्ञात रोगबाट मर्नेको संख्या ११ पुगेको छ । शनिबार दुई जनाको मृत्युभएसँगै मर्नेको संख्या ११ पुगेको हाे ।

मंगलबार यता मृत्यु हुनेमा बर्दिवास १२ का चार, भङ्गाहा ७ का छ र भङ्गाहा ६ का एक गरी ११ जना रहेको प्रहरीले जनाएको छ ।

शनिबार बर्दिबास १२ मा रहेको इटाभट्ठामा काम गर्ने ५५ वर्षीय भारतीय नागरिक मोतिलाल प्रजापति र भङ्गाहा ६ जमुनियाँका ४८ वर्षीय पलट साहको मृत्यु भएको स्थानीयले बताएका छन् ।

स्थानीय जनप्रतिनिधिले उनीहरुको घरेलु मदिरा सेवनका कारण मृत्यु भएको हुनसक्ने अनुमान गरेका छन् । तर, प्रहरीले भने उनीहरुको शव परीक्षण नगरी मृत्युको कारण भन्न नसकिने बताएको छ ।

बल्ल गाउँ पुग्यो डाक्टरको टोली

११ जनको मृत्युभएपछि शनिबार मात्रै डाक्टरको टोली गाउँ पुगेको छ । स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट डा अमृत पोखरेल, विश्व स्वास्थ्य सङ्गठनका डा. सुदिपा खड्का र जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीको टोली बस्तीमा पुगेको छ । डाक्टरको टोलीले स्थानीयबाट बिरामीको लक्षणबारे अनुसन्धान गरीरहेको छ ।

प्रहरीले मृतक मध्ये दुई जनाको कोरोना परीक्षण गर्दा आरडिटी नेगेटिभ आएको बताएको छ । उनीहरुको पिसिआर परीक्षणका लागि स्वाबको नमुना पठाएको भएपनि रिपोर्ट भने आउन बाँकी रहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार