
काठमाडौं । कोराना संक्रमण भए नभएको पत्ता लगाउन परीक्षण गर्ने किट अभाव हुँदा धेरै ठाउँमा परीक्षण रोकिएको छ । किट अभावमा रुकुम, भैरहवा र विराटनगरमा परीक्षण रोकिएको हो ।
त्यस्तै कोरोना परीक्षण गर्ने किट अभावकै कारण जुम्लामा भने परीक्षण नै सुरु भएको छैन् । कोरोना परीक्षणका लागि जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जडान गरिएको पीसीआर मेसिन किट अभावमा सञ्चालनमा आउन सकेको छैन ।
जुम्मालमा कारोना परीक्षणका लागि गएको मङ्गलबार प्रतिष्ठानले पीसीआर मेसिन जडान गरेको थियो । तर, किट नहुँदा मेसिन अझै संञ्चालनमा आउन नसकेको प्रतिष्ठानले जनाएको छ । किट सुर्खेतसम्म पुगेपनि जुम्लामा पुग्न सकेकाे छैन् ।
किट पुगेपछि जुम्लाको पीसीआर मेसिनमा एकपटकमा ९६ जनाको स्वाब परीक्षण गर्न मिल्ने छ ।
त्यस्तै पूर्वी रुकुममा पनि र्यापिड डाइग्नोष्टिक टेष्ट (आरडीटी) किटको अभावले कोरोना परीक्षण रोखिएको छ । दुइै हप्तादेखि परीक्षण रोकिदा शंकास्पद कोरोना संक्रमितको परीक्षण गर्न समस्या भएको बताइएको छ ।
रुकुममा भारत र अन्य मुलुकबाट हजारौं नागरिक जिल्ला भित्रिएका छन् । उनीहरुको समयमै परीक्षण गरेन भने ठुलो समस्या हुनसक्ने स्वास्थ्यकर्मीले बताएका छन् ।
प्रदेश सरकारले १६० किट पठाएको र उक्त किट सकिएपछि परीक्षण नै बन्द गर्नु परेको जिल्ला स्वास्थ्य कार्यालय रुकुमले जनाएको छ । प्रदेशबाट पठाएको किटले रुकुका सिस्ने, भूमे र पुथाउत्तरगंगा गाउँपालिकामा मात्रै परीक्षण गरिएको छ । अरु ठाउँमा किट नहुँदा परीक्षण गर्न समस्या भइरहेको बताइएको छ ।
भैरहवामा पनि कोरोना परीक्षण गर्ने किट नहुँदा परीक्षण रोकिएको छ । यसअघि भैरहवास्थित प्रदेशको जनस्वास्थ्य प्रयोगशालामा परीक्षण हुँदै आएको कोरोना किट अभावले आइतबादेखि रोकिएको बताइएको छ । १ जनामा कोरोना संक्रमण देखिएको ठाउँमै किट नहुँदा संक्रमितको संम्पर्कमा आएका व्यक्तिको समेत परीक्षण गर्न नपाएको स्वास्थ्यकर्मीले बताएका छन् ।
प्रदेश ५ को नेपालञ्जमा एकै दिन १५ जनामा कोरोना संक्रमण देखिएपछि, भैरहवामा पनि जोखिम बढेको छ । सिमा नाका नजिकै भएकाले भारतबाट भित्रिनेहरुको संख्या पनि बढ्न सक्ने उनीहरुले बताएका छन् । परीक्षण बढाउनु पर्ने ठाउँमा किट नहुँदा परीक्षण नै रोखिएकाले पछि समस्या हुनसक्ने अनुमान गरिएको छ ।
पूर्वको कोशी अस्पतालमा जडान गरिएको कोरोना परीक्षण गर्ने अटोमेटिक मेसिनमा प्रयोग हुने रिएजेन्ट (आरएनए एक्ट्रयाक्सन किट) अभाव हुँदा परीक्षण रोखिएको छ । अस्पतालले दुईपटकसम्म किट माग गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र पठाएकाे बताएको छ । तर मन्त्रालयमा नै अभाव भयो भनेर किट नपठाउँदा एक सातायता परीक्षण बन्द भएको छ ।
एकै पटक ७२ वटा स्वाब परीक्षण गर्ने मिल्ने मेसिन नै किट अभावले बन्द भएपछि परीक्षणमा समस्या भएको छ ।
शनिबार प्रदेश सरकारले कोरोना परीक्षणका लागि छुट्टै ल्याब थप गरेको छ । तर कोशी अस्पतालको ल्याब पूर्ण क्षमतामा सञ्चालन भएको छैन । सामान्य रुपमा परीक्षण गर्दा काम थोरै हुने र रिपोर्ट पनि ढिलो आउने स्वास्थ्यकर्मीले बताएका छन् ।
३१ जना संक्रमित रहेको ठाउँमा परीक्षण बढाउनु पर्नेमा घटिरहेको बताइएको छ । अहिले स्वाब परीक्षणमा पनि ढिलाई भइरहेको छ ।
विश्वमा महामारीको रुपमा फैलिएको कोरोना नेपालमा पनि नयाँ विरामीहरू थपिदै गइरहेका छन् । कोरोना संक्रमितको संख्या बढ्दै गएपनि परीक्षण गर्ने किट अभावले धेरै ठाउँमा परीक्षण नै रोखिएको छ ।
कतिपय ठाउँमा त संक्रमितको सम्पर्कमा आएका व्यक्तिको समेत परीक्षण रोखिएको छ । यसले गर्दा कोरोनाको जोखिम बढ्न सक्ने अनुमान गर्न सकिन्छ । त्यसैले सरकारले परीक्षणका लागि समयमै संक्रमित देखिएका ठाउँ र अन्य ठाउँमा किट पठाउन ढिलाइ गर्नु हुन्न ।










