जनकपुर । कोरोना महामारीबाट बच्नका लागि चैत ११ गतेबाट देश लकडाउनमा छ । अफिस, उद्योग, कारखाना सबै बन्द छन् । मानिसले महामारीबाट कसरी बच्ने हाेला भनेर विभिन्न उपाए अपनाई रहेका बेला महिला माथि हुने हिंसाका घटनाहरु भने दिन प्रतिदिन बढीरहेका छन् ।
महिला र बालिका माथि हत्या, बलात्कार, घरेलु हिंसाका घटनाहरु बढीरहेका छन् । त्यस्तै धनुषामा पनि एक जनाले आफ्नै श्रीमतीको हत्या गरेका छन् । उनले श्रीमतीको हत्या गरी सब पनि आफैले गाउँ नजिकैको सामुदायीक वनमा गाडेका छन् ।
जिल्लाको मिथिला नगरपालिका वडा नम्बर ९ लालभिट्टीका हरि चौहानले आफ्नै श्रीमती वीणा चौहान लामाको हत्या गरेको प्रहरीले जनाएको छ । उनले बैशाख १८ गते श्रीमतीको सलले घाँटी थिची हत्या गरेर मगर्नी खोला छेउमै खाल्डो खनी गाडेकाे प्रहरीले पत्ता लगाएको छ ।
श्रीमतीको हत्या गर्ने चौहानलाई प्रहरीले पक्राउ समेत गरेको छ । वीणा बुवाले छोरी हराएको भन्दै प्रहरीमा उजुरी दिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।
प्रहरीले अनुसन्धान गर्दा चौहानले सालीसँग विवाह गर्नका लागि श्रीमतीको हत्या गरेको बयान दिएका छन् । लामो समयदेखि सालीसँग प्रेम सम्बन्ध रहेको पनि उनले बयानमा बताएका छन् । उनले सालीले दिदीघरमा भएसम्म आफुले विवाह नगर्ने बताएपछि श्रीमतीको हत्या गरेको बताएका छन् ।
यता प्रहरीले वीणाको शवलाई उत्खनन गरेर पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पुर्याएको छ । प्रहरीले यसविषयमा थप अनुसन्धान गरिरहेको छ ।
पाँच वर्षअघि वीणासँग प्रेम विवाह गरेका हरिका १ छोरा र १ छोरी छन् ।











