
बारा । नेपालमा थप ४ जना सुरक्षाकर्मीमा कोरोना भाइरसको संक्रमण भेटिएको छ । बारामा आज (आइतबार) एकैदिन प्रहरी नायव निरीक्षकसहित थप ४ जना प्रहरीमा कोरोना संक्रमण पाइएको हो ।
संक्रमित हुनेमा जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत ४ जना प्रहरी कर्मचारी रहेको बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जनाएका छन् ।
उनका अनुसार जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत सर्लाही घर भएका ४९ वर्षीय, कलैया–१६ घर भएका ३४ वर्षीय, पर्सा घर भएका ३२ वर्षीय र रौतहटको युमनामाई घर भएका ३४ वर्षीय प्रहरी कर्मचारी संक्रमित भएका हुन् । यसअघि मुद्दा शाखामा कार्यरत प्रहरी कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
उनलाई जेठ ३ गते संक्रमण पुष्टि भएपछि त्यसको ‘कन्ट्याक्ट ट्रेसिङ’ को आधारमा सम्पर्कमा आएका ५० जनाको स्वाब संकलनपछि परीक्षण गर्दा थप ४ जना प्रहरी कर्मचारीमा संक्रमण पाइएको हो ।











