
जाजरकोट । जाजरकोटमा कुटेर युवाहरुको हत्या गरिएको विरोधमा स्थानियले जिल्ला प्रहरी कार्यालय घेराउ गरेका छन् ।
हत्यारालाई हदैसम्मको कारवाही र घटनाको सत्यतथ्य छानविन गर्नका लागि दवाव दिने उदेश्यले स्थानियहरुले सोमबार प्रर्दशन गर्दै प्रहरी कार्यालय घेराउ गरेका हुन ।
जाजरकोटको भेरी नगरपालिका ४ का नवराज विक लगायत ३ जनाको कुटेर हत्या गरिएको घटनाको विरोधमा स्थानियहरु आक्रोषित हुँदै प्रर्दशन गरेका थिए ।
शनिवार राती जाजरकोटबाट नवराज आफ्ना १९ जना साथीहरु लिएर पश्चिम रुकुमको चौरहजारी नगरपालिका ८ सोतीकी आफ्नी प्रेमीका सुष्मा मल्ललाई भगाउन जाँदा उनका माइती र गाउँलेले आक्रमण गरी कुटपिट गर्दा नवराजसहित ३ जनाको मृत्यु भएको र अन्य ३ जना वेपत्ता भएका छन् ।
वेपत्ता हुनेमा नवराजका साथी लोकेन्द सुनार, सन्जु बिक र गोविन्द शाही रहेका छन् । उनीहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
लामो समयदेखि प्रेम सम्बन्धमा रहेकी सुष्माले आफुलाई भगाएर लैजान भन्दै नवराजलाई बोलाएपछि उनि साथीहरुसहित गएका थिए ।
उक्त घटनापछि प्रहरीले युवतीका आमा बुवासहित ५ जनालाई पक्राउ गरेर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।
कथित उपल्लो जातकी युवतीलाई प्रेम गरेकै कारण दलित युवाको कुटेर हत्या गरिएको घटनाप्रती अहिले देशभर ब्यापक विरोध भइरहेको छ । हत्याराहरुलाई हदैसम्मको कारवाही हुनुपर्ने भन्दै आवाज उठिरहेको छ ।









