
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले रुकुममा दलित युवकको हत्यालाई जातीय विभेदको पराकाष्टा भन्दै छानविन गर्न मागेको छ । मंगलबार आयोगद्धारा निकालिएको विज्ञप्तिमा घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानूनी दायरामा ल्याउन सरकारलाई आग्रह गरिएको छ ।
जारी विज्ञप्तिमार्फत आयोगले नेपालको कानून र विभिन्न अन्तर्राष्ट्रिय कानून विपरीतको रुकुममा घटेको उक्त घटनालाई जातीय विभेदको पराकाष्टा समेत भनेको छ ।
आयोगले घटनामा प्रभावकारी अनुसन्धानको लागि आयोगको कर्णाली प्रदेश शाखा कार्यालय, जुम्लाबाट स्थानीय प्रहरी प्रशासनलाई पत्राचार हुनुका साथै जिल्लास्थित मानव अधिकार अवस्था अनुगमन समितिबाट अनुगमन भइरहेको समेत जनाएको छ ।
शनिवार साँझ जाजरकोटको भेरी नगरपालिका-४ का २१ वर्षीय नवराज विक पश्चिम रुकुमको चौरजहारी नगरपालिका-८ औलाकी प्रेमिका १७ वर्षीय सुष्मा मल्ललाई भगाउन गएका बेला आउँलेको आक्रमणमा परेका थिए । आक्रमणबाट नवराजसहित ३ जनाको ज्यान गएको छ भने अन्य ३ युवक भेरी नदीमा अझै वेपत्ता छन् ।
वेपत्ता हुनेमा नवराजका साथी लोकेन्द्र सुनार, सन्जु बिक र गोविन्द शाही रहेका छन् । उनीहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
लामो समयदेखि अन्तरजातिय प्रेम सम्बन्धमा रहेकी सुष्माले आफुलाई अर्को केटासंग बिहे गर्न लागेकाले भगाएर लैजान भन्दै नवराजलाई बोलाएकी थिइन । यस बिषयमा आज संसदमा गृहमन्त्री रामबहादुर थापाले घटनाको जानकारी दिदैं छानविन समिती गठन गरेको बताएका छन् ।
त्यस्तै आज बसेको संघिय संसदको दुवै बैठकमा अधिकांस सासंदहरुले घटनाको चर्को विरोध गर्दै दोषीमाथि हदैसम्मको कारवाहीको माग गरेका छन् । अन्तरजातिय प्रेम सम्बन्धलाई लिएर भएको हत्याको घटनाको अहिले देशभर चर्को विरोध भइरहेको छ ।
आयोगद्धारा जारी विज्ञप्ति










