
दैलेख । कोरोना संक्रमितको संख्या बढ्ने र परीक्षण ढिला हुने भएकाले दैलेखमा कोरोना परीक्षणका लागि पीसीआर मेसिन पुगेको छ । पीसीआर परीक्षणका लागि आवश्यक पर्ने स्वास्थ्यकर्मीको टोली पनि मेसिनसँगै देलेख पुगेको हो ।
संघीय सांसद रवीन्द्रराज शर्माको नेतृत्वमा काठमाडौंबाट मेसिनसँगै हिँडेको स्वास्थ्यकर्मी टोली शुक्रबार देलेख पुगेको बताइएको छ ।
दैलेखमा भारतबाट आएका धेरै व्यक्तिहरु क्वारेन्टिनमा बसेका छन् । धेरैको परीक्षणको रिपोर्ट ढिला आएकाले घर पठाइएका व्यक्तिमा पनि संक्रमण देखिएको छ । कोरोनाको जोखिम बढ्ने र रिपोर्ट ढिला आउने भएकाले अवस्था भयाभह हुने भन्दै सांसद शर्माले मेसिनका लागि पहल गरेका थिए ।
जिल्लामै पीसीआर मेसिन आवश्यक भएकाले सांसद शर्माले निर्वाचन क्षेत्र विकास कोषअन्तर्गत यस वर्षका लागि ठेक्का खुलाएर बचेको रु एक करोडले मेसिन खरीद प्रक्रिया थालेका थिए ।
उनले उक्त रकमले मेसिनसँगै एक हजार थान स्वाब सङ्कलन किट पनि दैलेख पठाएका छन् । यसका साथै डा. रवीन खड्कासहित आठ स्वास्थ्यकर्मीको टोलीमा ल्याब टेक्निसियनलगायतको सहभागिता छ ।
पीसीआर मेसिनको प्राविधिक व्यवस्थापन मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. नन्दबहादुर सिंहसहितको टोलीले गर्ने सांसद शर्माले जानकारी दिएका छन् । मेसिनबाट शुरुमा दैनिक तीन सय जनाको जाँच हुनेछ ।
त्यस्तै कर्णाली प्रदेश सभाका सदस्य अमरबहादुर थापाले रु ७० लाखको लागतमा आइसोलेसन अस्पताल निर्माण शुरु गरेका छन् ।
दैलेखमा करिब ४२ हजार नागरिक भारतबाट जिल्ला भित्रने क्रम बढेको छ । अहिलेसम्म दैलेखमा मात्रै ७ सय २३ जनामा कोरोना संक्रमण देखिएको छ । अझै संक्रमितको संख्या बढ्ने अनुमान गरिएको छ ।










