
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बेसारको बारेमा धरैले मजाक उडाइरहेको भन्दै यसबारे गहिरिएर बुझ्न आग्रह गरेका छन् । उनले बेसारका फाइदाको बारेमा बुझेर बोल्न पनि बजारमा हल्ला गर्नेलाई अनुरोध गरेका छन् ।
आइतबार अन्तर्राष्ट्रिय योग दिवस मूल समारोह समितिले आयोजना गरेको भर्चुअल कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले बेसारका फाइदा बारे सबै नागरिकले जान्नु पर्ने आवश्यकता औल्याएका छन् । उनले भान्सामा प्रयोग गर्दै आएका बेसार, अदुवा, मेथी जस्ता मसला औषधिमय भएको पूर्वज ऋषिमुनि र आयुर्वेदको खोज तथा प्रयोगबाट प्रमाणित भएको बताए ।
केही दिनअघि संसदमा उनले कोरोना महामारीबाट बच्नका लागि बेसार पानी उत्तम उपाए भएको बताएका थिए । उनले रोग प्रतिरोधी क्षमता बढाउन बेसार पानी पिउन सबैलाई आग्रह गरेका थिए ।
उनको यो अभिव्यक्तिलाई लिएर धेरैले मजाक उडाइरहेका छन् । शनिबार केही युवाहरुले त शरिरमा बेसार दलेर सरकारको विरोध समेत गरेका थिए ।
उनले बेसारलाई मजाक उडाउनेहरुलाई यसका फाइदाका बारेमा खोज र अनुसन्धान गर्न आग्रह गरेका छन् ।









