कपिलवस्तु आइपुग्यो सलहको ठूलो झुण्ड

काठमाडौं । शनिबार नेपाल भित्रिएको सलह किरा तराई देखि पहाडसम्म फैलिएको छ । हावासँगै एक ठाँउबाट अर्को ठाउँमा पुग्ने भएकाले एकै दिन बारा, पर्साबाट रुपन्देही पुगेको थियो ।

नेपालमा आएको सलहको झुण्ड सानै भएकाले कृषकलाई नआत्तिन कृषि मन्त्रालयले अनुरोध गरेको थियो । तर सोमबार कपिलवस्तुमा भने सलहका ठूला झुण्डहरु देखा परेका छन् ।

जिल्लाका तीनवटा बुद्धभूमी, शिवराज र कपिलवस्तु नगरपालिकाको जंगलमा सलहका  ठूला झुण्ड देखा परेको बताइएको छ ।  आइतबार अपरान्हदेखि करिब ८ देखि १० लाखभन्दा धेरै संख्याको सलहको झुण्ड कपिलवस्तुमा प्रवेश गरेको अनुमान गरिएको छ । उक्त नयाँ समूह जंगलमा बसेको स्थानीयले बताएका छन् ।

कपिलवस्तुमा भेटिएको झुण्ड अहिलेसम्म नेपालमा भेटिएको भन्दा ठूलो झुण्ड भएको बताइएको छ । उक्त झुण्ड करिब २० घण्टासम्म एकै ठाउँमा बसेको पाइएको छ ।

सरकारले भने भारतका विभिन्न भागमा बालीनाली नष्ट गर्दै आएका सलह साना । साना झुण्डमा छुटिटएर नेपाल प्रवेश गरेको बताउँदै आएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार