
काठमाडौं । “कम्युनिष्ट पार्टी नीति प्रधान हो, नेता प्रधान होइन” भन्दै सत्तारुढ नेकपाको पार्टी कार्यालयमा कार्यकर्ताहरु धर्ना बसेका छन् ।
नेतृत्वहरुको स्वार्थका कारण पार्टी विभाजन हुने संघारमा पुगेपछि केन्द्रीय नेता र कार्यकर्ताहरु नेतृत्वलाई दवाब दिन बुधबार धर्ना बसेका हुन।
पार्टी कार्यालय धुम्बाराहीको हलमा भेला भएका नेताहरुले ‘कम्युनिस्ट पार्टी नीतिप्रधान हो, नेता प्रधान होइन’ भन्ने पुष्पलालको भनाइलाई ब्यानरमा राखेर धर्ना दिएका छन् । उनीहरुले “हामीलाई विभाजन मञ्जुर छैन, पार्टी एकता कायम गर” भन्ने नारा लेखेको प्लेकार्ड पनि बोकेका छन् ।
पार्टीको स्थायी समिति बैठकमा केपी ओलीले प्रधानमन्त्री र अध्यक्षबाट राजीनामा दिनुपर्ने माग उठेपछि नेकपाभित्र विवाद बढेको छ ।
तर, ओलीले दुबै पद नछाड्ने अडान लिएपछि नेताहरु आ आफ्ना गुटगत भेला गर्दै छलफल गरिरहेका छन् ।
सहमतीका लागि पार्टी अध्यक्षद्वय ओली र प्रचण्डबीच पटक पटक वार्ता भएपनि सहमतीमा पुग्न सकिएको छैन् । सहमतकिा लागि आज पनि दुबै अध्यक्षबीच भेटवार्ता हुने बताइएको छ ।









