
काठमाडौँ । सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि चैत ११ गतेबाट लकडाउन गरेको छ । लकडाउन असार १ गतेबाट केही खुकुलो गरिएपनि सार्वजनिक यातायात भने अझै सञ्चालन हुन सकेका छैनन् ।
यातायात व्यवसायीका समस्यालाई मध्येनजर गर्दै सरकारले शुक्रबारबाट केही मापदण्ड पुरा गरेर सार्वजनिक यातायात सञ्चालन गर्न अनुरोध गरेको थियो । तर, यातायात व्यवसायीले भने आफ्ना केही माग पुरा नभएसम्म सार्वजनिक यातायात नचलाउने घोषणा गरेका छन् ।
शनिबार उनीहरुले सर्वाजनिक यातायात कसरी सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा विशेष पहल गर्न एक कार्यदल बनाएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र यातायात सम्बन्ध मजदुर संगठनहरुले कार्यदल बनाएका हुन् ।
ललितपुरमा महासंघ र तीनवटा मजदुर संगठनको संयुक्त बैठकले सरकारसँग आवश्यक छलफल गरी समस्या समाधान गर्न भन्दै ४ सदस्यीय कार्यदल बनाएका छन् ।
उक्त कार्यदलमा महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्य, नेपाल यातायात मजदुर संगठनका अध्यक्ष भीमज्वाला राई, नेपाल यातायात मजदुर संघका अध्यक्ष धर्मराज भण्डारी र अखिल नेपाल यातायात मजदुर संघका कार्यवहाक अध्यक्ष दिपक केसी रहेका छन् ।
कार्यदलले संयुक्त विज्ञप्ति जारी गर्दै लामो तथा छोटो दुरीमा चल्ने सम्पूर्ण सवारी साधनहरु सुरक्षित रुपमा सञ्चालन गर्न पहल गर्ने बताएको छ ।









