
विराटनगर । थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरी राजविराज नगरपालिका १ घर भएका ७३ वर्षीय वृद्ध रहेका छन् ।
उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको हो । उनलाई मधुमेह, उच्च रक्तचाप र मुटु रोगको उपचारका लागि बुधबार अस्पताल भर्ना गरिएको थियो । उनको बुधबार नै स्वाब संकलन गरिएको थियो ।
बिहीबार कोरोना पोजेटिभ रिपोर्ट आएपछि उनलाई आइसोलेसनमा भर्ना गरिएको थियो । आइसोलेसनमा उपचारका क्रममा बिहीबार नै मृत्यु भएको बताइएको छ ।
प्रदेश एक मा यो पहिलो मृत्यु हो । यससँगै नेपालभर कोरोनाबाट मृत्यु हुने व्यक्तिहरुको संख्या ४० पुगेको छ ।







