कोरोनाबाट एकै दिन थप २ जनाको मृत्यु


काठमाडौं । नेपालमा कोरोनाबाट एकै दिन थप २ जनाको मृत्यु भएको छ । आइतबार बिहान बिरगंज र साँझ धनुषामा एक एक पुरुषको मृत्यु भएको हो ।

धनुषामा मृत्यु हुनेमा जिल्लाको शहीदनगर नगरपालिका ८ डुमरियाका ३८ बर्षीय युवक रहेका छन् ।  उनलाई धनुषाको प्रादेशिक अस्पतालबाट उपचारका लागि धरान ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको धनुषा प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिए ।

ज्वरो र रुघाखोकी लागेर जनकपुरधामस्थित प्रादेशिक अस्पताल भर्ना भएका युवकको आइतबार साँझ ७ बजे कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य निर्देशनालय प्रदेश २ का सहनिर्देशक विजय झाले बताए ।

त्यसैगरी अर्का ६५ वर्षीय वृद्धको वीरगञ्जस्थित नारायणी अस्पताल अस्थायी कोरोना विशेष गण्डक अस्पतालमा आइतबार बिहान मृत्यु भएको छ।

नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा मृतक वृद्धको रिपोर्ट पोजेटिभ आएको डाक्टर निरज सिंहले जानकारी दिए ।
मधुमेह र मुटुका रोगी उनलाई केही दिनदेखि स्वास्थ्यमा समस्या थियो ।

कोरोना परीक्षणका लागि शनिबार नारायणी अस्पतालमा उनको स्वाब संकलन गरी उपचारका लागि वीरगञ्जस्थित हेल्थ केयरमा लगिएको थियो । शनिबार रातिबाट अवस्था गम्भीर बनेपछि बृद्धलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको हुँदै गर्दा आइतबार बिहान करिब ६ बजे मृत्यु भएको गण्डक अस्पतालका डाक्टर निरज सिंहले बताए ।

दुबै जनाको मृत्युबारे स्वास्थ्य मन्त्रालयले आधिकारीक घोषणा गर्न बाँकी छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार