
काठमाडौं । कोरोनाबाट बच्न १४ वटा जिल्लाका विभिन्न क्षेत्रलाई निषेधाज्ञा जारी गरिएको छ । गृह मन्त्रालयले बुधबार दिएको जानकारीअनुसार दार्चुला, बझाङ, बाँके, सप्तरी, धनुषा, नुवाकोट, बाँके, मोरङ, पर्सा, बारा, महोत्तरी, झापा, सुनसरी, सर्लाही र स्याङ्जा जिल्लाका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ ।
यसमध्ये सप्तरी, सर्लाही, स्याङ्जा, पर्सा, बारा र बाँके जिल्लाभरी पूर्ण रुपमा निषेधाज्ञा जारी गरिएको छ ।
पर्सा, बारा र सर्लाहीमा अनिश्चितकालीन निषेधाज्ञा छ भने सप्तरीमा साउन २६, बाँकेमा साउन २४ र स्याङ्जामा साउन २३ गतेसम्म निषेधाज्ञा तोकिएको गृह मन्त्रालयले जनाएको छ ।
दार्चुलाको मार्मा गाउँपालिका क्षेत्रमा पनि निषेधाज्ञा जारी गरिएको छ भने बझाङको थलारा गाउँपालिकाको वडा–५ र केदारस्यू गाउँपालिका वडा ६ र ७ मा निषेधाज्ञा जारी गरिएको छ ।
त्यसैगरी झापाको बिर्तामोड र अर्जुनधारा नगरपालिका क्षेत्र, मोरङको विराटनगर महानगरपालिका, सुनसरीको बराह क्षेत्र नगरपालिकाको वडा नम्बर ६,७ र ८ मा निषेधात्रा लगाइएको मन्त्रालयले जनाएको छ ।
त्यस्तै महोत्तरीको जलेश्वर नगरपालिका र महोत्तरी गाउँपालिका क्षेत्र, धनुषाको जनकपुरधाम उपमहानगरपालिका र क्षीरेश्वरनाथ नगरपालिका, नुवाकोटको सदरमुकाम क्षेत्रलाई निषेधाज्ञा जारी गरिएको छ ।










