
पाल्पा । पाल्पाको रम्भा गाउँपालिकाले एक वा दुई सन्तान जन्माउनेलाई अब पुरस्कार दिने भएको छ । जनसंख्या न्यूनीकरण गर्ने उद्देश्यले एक वा दुई सन्तान जन्माई परिवार नियोजन गर्ने दम्पतीलाई गाउँपालिकाले नगदसहित पुरस्कार दिने भएको हो ।
एक वा दुई सन्तान जन्माउनेलाई स्मार्ट दम्पती भन्दै रु पाँच हजार पुरस्कार प्रदान गरिने गाउँपालिका अध्यक्ष विष्णु भण्डारीले जानकारी दिए । गाउँपालिकाले आर्थिक वर्ष २०७७/०७८ का नीति, कार्यक्रम र बजेटमा स्मार्ट दम्पती सम्मान कार्यक्रम नै सञ्चालनमा ल्याइएको उनले बताए ।
सन्तान जन्माई स्थायी परिवार नियोजन मिनील्याप वा भ्यासेक्टोमी गरेका दम्पतीलाई मेडिकल प्रमाणका आधारमा कम्तीमा पाँच जोडीलाई गाउँपालिकाले सम्मान गर्ने कार्यक्रम राखेको गाउँपालिका अध्यक्ष भण्डारीले बताए । स्मार्ट दम्पती सम्मान कार्यक्रम सञ्चालन गर्न गाउँपालिकाले रु ५० हजार विनियोजन समेत गरेको छ ।
यस्तै गाउँपालिकाले छोराबुहारी सम्मान कार्यक्रम भनेर नगद पुरस्कारको ब्यववस्था पनि गरेको छ । घरमा रहेका जेष्ठ नागरीक आमाबुबा तथा सासूससुराको उचित स्याहार सुसार, खानपीन, पोषण र स्वास्थ्यमा ध्यान दिने छोराबुहारीलाई गाउँपालिकाले सम्मान गर्दै नगद पुरस्कार दिने ब्यवस्था गरेको छ ।
त्यसका लागि गाउँपालिकाले चालु आवमा प्रत्येक वडाका दुई जोडी गरी १० छोराबुहारीलाई रु पाँच हजारसहित सम्मान गर्ने कार्यक्रम राखेको छ ।











