
बर्दिया । दुई हजार रुपैयाँ नपाएर एक महिलाको ज्यान गएको छ । ज्यान जानेमा बर्दियाको गुलरिया नगरपालिका ५ की ३२ वर्षीया गुड्डी पाल रहेकी छन् ।
उनको अत्याधिक रक्तस्रावका कारण उपचार नपाएर घरमै मृत्यु भएको छ । एक साताअघि ६ महिनाको गर्भ खेर गएकी पालको समयमै उपचार नपाएर मृत्यु भएको परिवारले जनाएका छन् । जिल्ला अस्पतालले थप उपचारका लागि नेपालगन्ज रेफर गरेकी उनको दुई हजार एम्बुलेन्स खर्च नपाएर बुधबार घरमै मृत्यु भएको छ ।
नेपालगञ्जमा कोरोना संक्रमणका कारण निषेधाज्ञा जारी गरिएको छ । यो बेला एम्बुलेन्स बाहेक अरु गाडी नचलेको र एम्बुलेन्सले २ हजार लाग्ने बताएपछि खर्च जुटाउन नसकेको परिवारले बताए ।
श्रीमानको मजदुरीले जीवन चलाई रहेका उनको परिवारमा लकडाउनमा काम नहुँदा समस्या भएको थियो । उपचार नपाएरै श्रीमतीको ज्यान गएको श्रीमानले दुखेसो गरेका छन् ।








