
बारा । कोरोना महामारीबाट जोगिने उत्तम उपाय भनेको मास्क प्रयोग गर्नु हो । यसले कोरोना सर्न र फैलनबाट जोगाउँने स्वास्थ्यकर्मीहरु बताउँछन् ।
त्यहि भएर सरकारले घर बाहिर निस्कदा मास्कको अनिर्वाय प्रयोग गर्न भनेको छ । मास्कको प्रयोग नगर्नेलाई काठमाडौं उपत्यका लगायत देशैभरी जरीवाना गर्ने नियम पनि बनेको छ । यसरी मास्क नलगाउनेलाई जरीवाना गरेर सरकारले हजारौं राजश्व पनि उठाइरहेको छ । तर, बाराका प्रमुख जिल्ला अधिकारी (सिडिओ) रुद्रप्रसाद पण्डितले भने मुखको मास्क निधारमा लगाएको तस्वीर अहिले भाइरल भइरहेको छ ।
आइतबार बिहानै बाराको सिम्रौनगढ अन्तर्गतका ४ वटा सिमा नाकाको गस्ती तथा अनुगमनमा दलबलसहित निस्केका सिडिओ पण्डितले मुखमा लगाएको मास्क कहिले नाकमुनी चिउँडोमा त कहिले निधारमा लगाएका छन् । सीमा क्षेत्रमा भारतिय सुरक्षाकर्मीसंगको भेटमा पनि उनले मास्कको सहि प्रयोग गरेको देखिदैन् ।

प्रदेश २ मा कोरोना संक्रमण बढ्दै गइरहेका बेला स्थानिय सरकारले भिडभाड नगर्न, घर बाहिर ननिस्कन आग्रह गर्दै मास्क प्रयोग नगर्नेलाई नगद जरिवाना तिराउने समेत गरिएको छ ।
तर, सिडिओ नै मास्क निधार र नाकमुनी चिउँडोमा लगाउने भन्दै सामाजिक संजालमा उनको आलोचना भइरहेको छ । प्रदेश २ का बारा, पर्सा र रौतहटमा अहिले दिन प्रतिदिन संक्रमितहरु बढिरहेका छन् ।
भारतीय नाकाबाट मल, खाद लगायतका सामानहरु चोरी तस्करी हुने भएकाले संक्रमणको अझै जोखिम बढेको स्थानिय बताउँछन् ।
भारतीय सीमा नाकामा कोरोनाको मौका छोपेर तस्करी बढेको भन्दै सिडिओ पण्डित अनुगमनमा निस्केका थिए ।
सिम्रौनगढ नगरपालिकाका ४ वटा नाकाबाट प्रजिअ पण्डितले अनुगमनका क्रममा ९ वटा मोटरसाइकलमा ल्याएका ४० बोरा मल नियन्त्रणमा लिएको र वीरगंज भन्सारलाई बुझाएको जानकारी सामाजिक संजालमार्फत दिएका छन्।

फेसबुकमा सिडिओ पाण्डितले लेखेका छन, “आज बिहानै बाराको सिम्रौनगढ अन्तर्गतका ४ वटा सिमा नाकाको गस्ती तथा अनुगमनको क्रममा हुलाकी राजमार्गमा लाइन लगाएर ओसारपसार गरिरहेका ९ वोटा मोटरसाइकलबाट तस्करी गरि ल्याउन लागेको ४० बोरा भारतीय रासायनिक मल जफतगरी बिरगंज भन्सार बुझाइदै । वास्तविक किसानहरुका मर्का हेरेका छौ, साइकलमा १ २ बोरा आएकोलाई आफैले बोकेको वास्तविक किसानलाई केही गरिएको छैन, हुलाकी राजमार्गमा लाइन लगाएर ल्याउने र कोहि ब्यापारीलाई धनी बनाउन एजेण्ट भएर बोकिदिनेहरु किसान होइनन् । २०० /३०० का दलाल हुन ।”
उनले निधारमा, नाकमुनी मास्क लगाएका तस्वीरहरु पनि फेसबुकमार्फत आफैले सार्वजनिक गरेका छन् । जुन तस्वीरबारे निकै आलोचना हुँदै सिडिओले नै गलत मास्क प्रयोग गरेको भन्दै कारवाहीको समेत माग भइरहेको छ ।










