
वीरगञ्ज । कोरोनाको हटस्पट बनेको वीरगञ्जमा उपचार र संक्रमितको सेवामा निकै कठिन भइरहेको छ । हरेक दिन बढ्ने संक्रमित र मृत्युको दरले वीरगञ्जमा स्वास्थ्यकर्मीमा पनि त्रास बढेको छ ।
पछिल्लो समय सबै भन्दा धेरै कोरोना संक्रमित रहेको वीरगञ्जको अस्थायी कोभिड अस्पताल गण्डकमा संक्रमितको सेवाका लागि अब ‘सिस्टर रोबोट’ को प्रयोग गरिने भएको छ । संक्रमितलाई खाना, औषधि तथा अत्यावश्यक सामान पुर्याउन रोबोटले सहयोग गर्ने छ ।
संक्रमितको सेवामा नर्सहरुलाई सघाउने भएकोले नै यसको नाम ‘सिस्टर रोबोट’ राखिएको बताइएको छ । ‘सिस्टर रोबोट’मा सामान राखेर कोभिड अस्पतालमा उपचाररत संक्रमितको बेडसम्म पठाउन सकिन्छ ।
महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रले तयार पारेको रोबोर्ट सानो पाइलाको समन्वयमा नारायणी अस्पताललाई आइतबार निःशुल्क हस्तान्तरण गरिएको छ ।
सिस्टर रोबोटलाई रिमोट कन्ट्रोलबाट निर्देशन दिन सकिन्छ । रोबोटको अगाडिको भागमा क्यामेरा जडान हुने हुँदा मनिटरमा हेरे उसलाई परिचालन गर्नुपर्ने हुन्छ । रोबोटमा स्पिकरसमेत भएकोले संक्रमितलाई दिनुपर्ने सल्लाह पनि माइकमा बोलेर दिन सकिन्छ । रोबोर्टमा भएको ब्याट्री चार्ज गरेपछि दैनिकरुपमा त्यसले काम गर्छ ।










