
काठमाडौं । सत्तारुढ नेकपामा अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा स्थायी समितिको बैठकमा पेश गर्ने एजेण्डा तय गरिएको छ ।
पटक पटक स्थगित हुँदै आएको नेकपा स्थायी समिति बैठक आउने शुक्रबारका लागि बोलाइएको छ । अध्यक्षद्धय ओली र प्रचण्डबीच तीन घण्टासम्म भएको छलफलले स्थायी समिति बैठकमा लैजाने संयुक्त प्रस्ताव तयार पारेको बताइएको छ ।
नेकपामा देखिएको विवाद समाधान गर्न बनेको कार्यदलले दिएको सुझाव र त्यसमा नेताहरुले गरेको टिप्पणीलाई एकीकृत गर्दै एजेण्डा तयार पारेको बुझिएको छ ।
अध्यक्षद्धयले तयार गरेका एजेण्डाहरु भोलिसम्म स्थायी समिति सदस्यहरुलाई पठाउने र कोरोनाका कारण बैठक छोट्याउनेबारेमा पनि दुवै नेता सहमत भएको बुझिएको छ ।









