काठमाडौं । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीमाथि सत्तारुढ सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गरेपछि कर्णाली प्रदेश सरकार विवादमा छ । त्यही उत्पन्न विवाद समाधानका लागि कर्णालीका सत्तारुढ सांसद र नेताहरु काठमाडौंमा छन् । कर्णाली सरकारमा आएको समस्या र अविश्वासको समाधानका लागि प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष प्रचण्डबीच मंललबार बालुवाटारमा भेटवार्ता भयो ।
भेटघाटका क्रममा प्रधानमन्त्री ओलीले कर्णाली प्रदेशको विवाद केन्द्रबाटै समाधान गर्नुपर्ने प्रस्ताव गरेका थिए । तर, अध्यक्ष प्रचण्डले चाहिँ प्रदेशको विवाद प्रदेशले नै मिलाउनु उचित हुने बताएपछि छलफल निष्र्कषविहीन भएको हो ।
प्रदेश सरकार संघको मातहतमा हुनुपर्छ भन्दै आएका प्रधानमन्त्री ओलीले कर्णालीको विवाद पनि केन्द्रमा दुई अध्यक्षले मिलेर समाधान गर्नुपर्ने प्रस्ताव गरेको तर प्रचण्डले नमान्दा कुरा नमिलेको बताइएको छ ।
संघीयताको मर्म र भावना अनुसार प्रदेश सरकारबारे त्यहीँको पार्टी र प्रदेश सभाले निर्णय लिनुपर्ने भन्दै अध्यक्ष प्रचण्डले बालुवाटारबाट मिलाउन खोज्दा सकारात्मक सन्देश नजाने जवाफ ओलीलाई दिएको बताइएको छ ।
असोज २५ गते नेकपाका १८ जना सांसदले मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । उक्त अविश्वासको प्रस्तावले सत्तारुढ नेकपाभित्र राजनीतिक तरंग आएको छ ।