प्रधानमन्त्रीबारे आपत्तिजनक अभिब्यक्ति दिएका सांसद नरोत्तम वैद्यलाई निसर्त माफी माग्न काँग्रेसको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको बिषयमा आपत्तिजनक अभिब्यक्ति दिएका कांग्रेसका प्रदेश सांसद नरोत्तम वैद्यलाई आत्मालोचना गर्न निर्देशन दिइएको छ ।

शनिवार नेपाली काँग्रेसले एक विज्ञप्ति जारी गर्दै बागमती प्रदेशसभाको नीति तथा कार्यक्रमबारेको छलफलमा आफ्ना प्रदेश सभा सदस्य वैद्यले दिएको विवादास्पद अभिव्यक्ति फिर्ता लिई उनलाई आत्मालोचना गर्न निर्देशन दिएको हो ।

कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माद्धारा हस्ताक्षरीत विज्ञप्तिमा भनिएके छ, “नेपाली कांग्रेस प्रष्ट छ । अभिव्यक्ति स्वतन्त्रता र अभिव्यक्तिमा अराजकता एउटै होइन । आलोचना लोकतान्त्रिक हक हो तर त्यसको प्रयोग गरिँदा पार्टीको नीति र संस्कृतिलाई कुनै पनि तहको नेतृत्व र सदस्यले किमार्थ बिर्सन मिल्दैन ।”

काँग्रेसले शान्तिपूर्ण राजनीतिको शालिनता भनेको सडकमा समेत संयम भएर अभिव्यक्ति दिन जरुरी हुन्छ भने संसदमा संसदीय मर्यादाको पालना झनै अनिवार्य हुने समेत विज्ञप्तिमा उल्लेख छ ।

सांसद वैद्यले शुक्रबार साँझ बागमती प्रदेशसभाको नीति तथा कार्यक्रमबारेको छलफलमा प्रधानमन्त्रीबारे हिंसात्मक उदाहरण दिएका थिए ।
प्रधानमन्त्रीले आफ्नो पद जोगाइराख्नका लागि मुलुकलाई नोक्सानी हुने गरी अनावश्यक सम्झौता गरेको सांसद वैद्यको आरोप थियो ।

“ओली यसरी आइराख्या छ सत्ता बचाउनका लागि, जे कुरामा पनि सम्झौता गरेको छ । खड्ग ओलीलाई यसरी नै छोड्ने हो भने यो नेपाल खाइदिन्छ है । कोही नाथुराम गोड्से आवश्यकता पर्‍यो अब, यो देश बचाउनका लागि । कोही नाथुराम गोड्से बन्न तयार छैन भने म बन्ने कि ?”
स्मरण रहोस भारतमा नाथुराम गोड्सेले गोली हानेर महात्मा गान्धीको हत्या गरेका थिए । सांसद वैद्यको उक्त आपत्तिजनक अभिब्यक्तिको सवत्र विरोध भइरहेको छ । एमालेले उक्त अभिब्यक्तिलाई आपराधिक, अत्यन्त आपत्तिजनक र निन्दनीय भन्दै विरोध गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार