गण्डकीका मुख्यमन्त्री नेपालीले पाए विश्वासको मत


पोखरा । गण्डकी प्रदेशमा मुख्यमन्त्री बनेका कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशसभाबाट विश्वासको मत पाएका छन् । उनले शुक्रबार आफूलाई प्रदेशसभाको विश्वास छ भनी पेस गरेको प्रस्ताव बहुमतबाट पारित भएपछि विश्वासको मत पाएका हुन् ।

गण्डकीका ५८ सांसद मध्ये उनको पक्षमा ३१ सांसदले मतदान गरेका थिए भने नेकपा एमालेका २७ सांसदले विपक्षमा मतदान गरेका थिए ।
उनको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि भएको मत विभाजनको परिणाम घोषणा गर्दै मुख्यमन्त्री पोखरेलद्वारा पेस गरिएको प्रस्ताव प्रदेशसभाको बहुमतबाट पारित भएको सभामुख नेत्रनाथ अधिकारीले घोषणा गरेका छन् ।

मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधानअनुसार मुख्यमन्त्री पोखरेलले प्रदेशसभा बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका हुन् । उनी गत जेठ २९ गते संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री नियुक्त भएका हुन् ।

त्यसअघि तत्कालीन मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न नसकी पदमुक्त भएका थिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार