
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले समाजवादी सेना बनेर जनतासंग काम गर्न युवाहरुलाई निर्देशन दिएका छन् ।
शनिबार काठमाडौंमा पार्टीको भ्रातृ संगठन योङ कम्युनिस्ट लिग (वाईसीयल) को राष्ट्रिय भेलालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले समाजवादी यात्राका लागि अब समाजवादी सेना बनेर जनतासंग काम गर्न युवाहरुलाई निर्देशन दिएका हुन् ।
‘अबको हाम्रो यात्रा भनेकै समाजवाद हो, त्यसैले समाजवादी सेना बनेर जनतासंगै काम गर्नुपर्छ । समाजवादी आन्दोलनलाई अघि बढाउन अहिले वातावरण पनि छ, हाम्रो आशा तपाईँहरुमाथि नैछ’, प्रचण्डले वाईसीयललाइ भने ।
माओवादी र त्यसभित्रका युवाहरुले नै परिर्वतनका एजेण्डा बोक्ने भन्दै क्रान्तिका बाँकी कार्यभार पुरा गर्ने जिम्मा पनि युवाहरुकै काँधमा आएको प्रचण्डले भनाई थियो ।
अहिलेका युवाहरुमा पद र प्रतिष्ठाको मोह बढेको भन्दै अध्यक्ष प्रचण्डले आफु युवा हुँदा पार्टीको चूनौतीपुर्ण र कठिन जिम्मेवारी सम्हाल्ने गरेको सम्झिए ।
कार्यक्रममा बोलदै अध्यक्ष प्रचण्डले समाजवादी यात्राको तयारीको लागि कम्युनिस्ट पार्टीमा एकता गरिएपनि प्रतिगमनको नाइकेहरूका कारण एकता नटिकेको उल्लेख गरे ।
एमाले अध्यक्ष केपी ओलीतर्फ संकेत गर्दै उनले ओलीलाई प्रतिगमनको नाइके समेत भने। असंवैधानिक ढंगले पटक पटक संसद विघटन गरेर राज्यका उपलब्धिहरुलाई समाप्त पार्दै प्रतिगमनतर्फ लागेको प्रचण्डले भनाई थियो ।
ओलीले पहिलो पटक गरेको संसद विघटनलाई प्रतिगमन भनेर युवाहरुले साथ दिएको भन्दै प्रचण्डले प्रशंसा समेत गरे ।
संसद विघटनविरुद्ध विपक्षी दलहरु एकढिक्का भएर प्रतिरोध गर्दा ओलीको प्रतिगमन परास्त भएको उनको भनाइ थियो।
प्रतिगमनविरुद्ध बनेको पाँच दलको गठबन्धन संविधान, लोकतन्त्र र राष्ट्रियताको रक्षार्त बनेकाले यो लामो समयसम्म जाने अध्यक्ष प्रचण्डले बताए ।











