जनता बिग्रिएका होइनन्, बिग्रिएका त हामी माथिका नेताहरु मात्रै हौं– प्रचण्ड


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले क्रान्तिकारी विरासत भएको माओवादी आन्दोलन र नेतृत्वले बाटो बिराएको स्वीकार गरेका छन् । पार्टीका तत्कालीन उपाध्यक्ष पोष्टबहादुर बोगटीको स्मृति दिवसमा आज पार्टी कार्यालय पेरिस डाँडामा आयोजित कार्यक्रममा प्रचण्डले यस्तो बताएका हुन् ।

‘हामी हिजोका विरासतबाट विचलित जस्तो भएका छौं, वर्ग, उत्पीडित जाति, समुदायका लागि सम्पूर्णरुपले समर्पित भएर बलिदान दिन तयार हुने पार्टी पंक्तिमा विचलन आएको छ’, अध्यक्ष प्रचण्डले स्विकारे ।’

माओवादीका माथिल्लो तहका नेताहरु अहिले बिग्रिएको तर जनता, कार्यकर्ताहरु नबिग्रिएको र क्रान्तिकारी आन्दोलनका लागि तयार रहेको अध्यक्ष प्रचण्डले बताए ।

‘जनता बिग्रिएका पनि होइनन्, कार्यकर्ता पनि होइन, बिग्रिएका हामी माथिका नेताहरु मात्रै रहेछौं । गुट बनाउँदा फाइदा हुन्छ भन्ने नेतृत्व पंक्ति मात्रै बिग्रिएको रहेछ भन्ने अहिले पुष्टि भएको छ’, उनले बताए ।

बोल्ने क्रममा प्रचण्डले दिवंगत नेता बोगटीलाई पटकपटक स्मरण गर्दै पार्टीको पुनःनिर्माणको महान अभियानमा अघि बढ्न कार्यकर्तालाई निर्देशन समेत दिए ।

पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डलले अब आफैलाई गाली गरेर सुध्रिदैं माओवादी पार्टीलाई एक नम्बरको पार्टी बनाउन सबैले लाग्नु पर्ने धारणा राखे । प्रचण्डले देश झण्डैझण्डै प्रतिगमन र प्रतिक्रान्तितिर जाने अवस्थाबाट देशलाई आफूहरुले जोगाएको बताए ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार