काठमाडौं । सर्वोच्च अदालतले रवि लामिछाने नेपालको नागरिक कायम नरहेको फैसला गरेपछि उनको मन्त्री पद र राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पद स्वतः खारेज हुने भएको छ।े उनको नागरिकता विवादको विषयमा सर्वोच्च अदालतले विपक्षमा फैसला गरेपछि उनका सबै पद खारेज भएका हुन् ।
नेपालको संविधानअनुसार कुनै पनि दलको सदस्य वा सांसद हुन नेपाली नागरिक हुनु अनिवार्य छ। लामिछानेको नागरिकता कायम नरहेपछि उनी कुनै पनि दलको सभापति त के सदस्य पनि रहन अयोग्य भएका छन्। त्यस्तै सांसद र मन्त्री हुन पनि अयोग्य भएका छन्।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले नागरिक हुन अयोग्य व्यक्ति पार्टी सभापति नहुने भएकाले राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पद रिक्त भएको बताएका छन् ।
लामिछानेले अमेरिकाको नागरिकता त्यागेर नेपाली नागरिकता लिने प्रक्रिया पूरा नगरेको भन्दै सर्वोच्च अदालतले उनको सांसद पद बदर गरेको छ । सर्वोच्चको अदालतको व्याख्याले रवि लामिछाने यतिबेला नागरिकताविहीन बनेका छन् ।
शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासले लामिछानेको नागरिकता कानुनसम्मत नभएकाले उनको सांसद पद बदर भएको फैसला सुनाएको हो।
अब लामिछानेले नेपालको नागरिकता लिन चाहे पुनः नागरिकता प्राप्तिको प्रक्रियामा जानु पर्ने हुन्छ। त्यसपछि मात्रै उनले नागरिकता पाउने छन् ।











