ओलीलाई निर्वाचन आयोगले भन्योः चुनाव चिन्ह कस्तो बनाउने त्यो हाम्रो क्षेत्राधिकार हो


काठमाडौं । निर्वाचन आयोगले चुनावमा मतपत्रको रङ कस्तो बनाउने भन्ने आयोगको क्षेत्राधिकारको भएको बताएको छ ।

आज आयोगले गरेको नियमित पत्रकार सम्मेलनमा बोल्दै आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले चुनाव चिन्ह कस्तो बनाउने भन्ने कुरा आयोगको क्षेत्राधिकारको विषय भएको बताएका हुन् ।

“मतपत्रको रङ कस्तो राख्ने, कस्तो डिजाइन गर्ने भन्ने अधिकार आयोगसँग छ । किन रङ परिवर्तन गरियो भन्ने कुरामा अन्यथा सोच्न आवश्यक छैन । भोलि मत गणनालाई सहजता होस भनेर यस्तो निर्णय गरेको हो”, आयोगका सहप्रवक्ता अर्यालले भने ।

मतपत्रको रङ हरियो बनाएकोप्रति एमाले अध्यक्ष केपी ओलीले असहमती जनाइरहेका बेला आयोगले यसबारे प्रष्ट पारेको हो ।

२०७४ सालको चुनावमा प्रयोग भएको रङ निलो रहेको र स्वस्तिक छापको रङ पनि निलो भई रङमा एकरुपता भएकोमा परिवर्तन गरिएको सहप्रवक्ता अर्यालले प्रष्ट पारे ।

उनले रातको समयमा बत्तीको प्रकाश मधुरो हुने, स्थानीय तहको चुनावमा कतिपय मतदाताले एकपटक स्वस्तिक छाप मसीमा चोपेपछि सातवटा चिन्हमा लगातार मतदान गर्दा अन्तिमतिरको चिन्हमा लगाएको स्वस्तिक छाप मधुरो हुने जस्ता समस्या देखिएका कारण स्वस्तिक र चुनाव चिन्हको रंगमा भिन्नता गर्नका लागि परिर्वतनको निर्णय गरिएको उनको भनाई छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार