अष्टलक्ष्मी शाक्यले माधव नेपाललाई भनिन्ः तपाई फर्केर आउनुहोस, पार्टी सुध्रिढ बनाउन तपाईको आवश्यकता छ


काठमाडौं । नेकपा एमालेकी उपाध्यक्ष एवं बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले माधवकुमार नेपाललाई पार्टीमा फर्कन आग्रह गरेकी छन् । एमाले काठमाडौंले आज आयोजना गरेको जिल्लास्तरीय विस्तारित प्रशिक्षण कार्यक्रममा उपाध्यक्ष शाक्यले एमाले छोडेर नेकपा एकीकृत समाजवादी पार्टी निमार्ण गरेका नेता नेपाललाई एमालेमा फर्किन आग्रह गरेकी हुन् ।

‘कमरेड माधव नेपाल तपाईले लिएको बाटो सही छैन, किनभने यतिबेला फुटको राजनीति होइन, जुटको राजनीति आवश्यक छ । तपाई फर्केर आउनुहोस, पार्टीलाई सुध्रिढ बनाउन तपाईको आवश्यकता छ’,उपाध्यक्ष शाक्यले भनिन् ।

कार्यक्रममा बोल्दै उपाध्यक्ष शाक्यले पार्टीको कमजोरी र आगामी कार्यदिशाबारे समेत बताएकी छन् । पार्टीको नवौं महाधिवेशनबाट नै एमालेमा गम्भिर समस्या उत्पन्न भएको उपाध्यक्ष शाक्यको ठम्याई छ ।

‘नवौं महाधिवेशन चुनावमा दुईवटा प्यानल बनायौं, एउटा हार्ने एउटा जित्ने स्वभाविक हो । तर, त्यहीबाट गुटबन्दी सुरु भयो । त्यहीबाट पार्टीमा अन्तरविरोध सुरु भयो । कहिल्यै पनि सगोल एमाले भएर अगाडी बढ्न सकेन, यो हाम्रा लागि दुर्भाग्य भयो । एकताबद्ध एमाले बनाउने हो भने अब हामीले कहिल्यै प्यानलगत चुनाव गर्नु हुँदैन् भन्ने मेरो प्रष्ट मान्यता छ’,उपाध्यक्ष शाक्यले भनिन् ।

उपाध्यक्ष शाक्यले आफुहरुसंग प्रश्स्त नीति, सिद्धान्त, बिचारहरु भएपनि बैचारीक कामहरु राम्रो गर्न नसकेको बताइन् ।

‘हामीसंग प्रशस्त निति, सिद्धान्त, बिचार छ । हामी माक्र्सवाद, लेनिनवाद जिवन दर्शन छ, तर हामीले कहिल्यै बैचारिक कामहरु राम्रो गर्न सकेनौं । बिचारबाट सारै बिचलित भयौं । कहिल्यै राजनीतिक बैचारिक प्रशिक्षण भएन, जब प्रशिक्षणको अभाव भयो, जब बिचारको छलफलको अभाव भयो, त्यसपछि कमिटि अराजकतर्फ भयो,उनको भनाई थियो ।

उपाध्यक्ष शाक्यले पार्टीलाई अब निर्मम समिक्षा गरेर अघि बढ्नु पर्नेमा जोड दिइन् । ‘अब निर्मम समिक्षा गरेर अघि बढ्नु पर्छ, के भयो हिजो पार्टी किन यस्तो भयो ? सुध्रिढ एमाले बनाउनका लागि कमजोरी आत्मसाथ गर्नैपर्छ’, उनले भनिन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार