राष्ट्रपति भण्डारीले भनिन्ः बुद्ध दर्शनलाई दैनिक जीवनमा आत्मसात् गर्दै अगाडि बढे विश्वमा दिगो शान्ति कायम हुन्छ

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बुद्ध दर्शनलाई दैनिक जीवनमा आत्मसात् गर्दै अगाडि बढे मात्रै विश्वमा दिगो शान्ति कायम हुने बताएकी छन्।

आज रूपन्देहीमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राखिएको महाकरूणा बुद्धमूर्तिको अनावरण गर्दै राष्ट्रपति भण्डारीले मानव जातिले बुद्ध दर्शनलाई दैनिक जिवनमा आत्मसात् गरेर अगाडि बढे मात्रै विश्वमा दिगो शान्ति कायम हुन सक्ने बताएकी हुन्।

नेपालले बुद्धका शान्ति, अहिंसा, करुणा, सहअस्तित्व तथा समानताका सन्देशहरु विश्वभर फैलाएकोमा सम्पूर्ण नेपालीलाई गर्वको अनुभूति हुने बताइन्।

‘नेपालले बुद्धका शान्ति, अहिंसा, करुणा, सह–अस्तित्व र समानताको सन्देश विश्वभर फैलाउन महत्वपूर्ण भुमिका निर्वाह गरिरहेकोमा हामी सम्पूर्ण नेपालीले सधैँ गर्वको अनुभूति गरेका छौं। र सधैँ गरिरहने छौं। बुद्धले २५ सय वर्षभन्दा अगाडि पहिल्याउनु भएका जिवनोपयोगी सन्देशरू अहिले पनि निकै सान्दर्भिक हुनु र यसका अनुयायीहरु दिनानुदिन बिस्तारित हुंदै जानु हाम्रा निम्ति खुशीको विषय हो’, राष्ट्रपति भण्डारीले भनिन् ।

उनले अघि भनिन्, ‘बुद्ध दर्शनलाई मानवले दैनिक जीवनमा आत्मसात् गर्दै अगाडि बढ्न सक्दा नै विश्वमा दिगो शान्ति कायम हुन सक्दछ भन्ने मलाई लाग्दछ ।’

राष्ट्रपति भण्डारीले लुम्बिनीलाई बुद्ध संस्कृतिसँग जोडिएको आकर्षक र मौलिक पूर्वाधारको विकास गरी पर्यटकीय क्षेत्र बनाउनुपर्नेमा जोड समेत दिइन्। यसो गर्दा स्थानीय समुदायको जिवनमा पनि समृद्धि हासिल हुने राष्ट्रपति भण्डारीको भनाई छ। उनले लुम्बिनीलाई अन्तर्राष्ट्रिय पर्यटकीयस्थलको रूपमा विकास गर्नका लागि गुरुयोजनाको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिइन् ।

उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई अत्याधुनिक र सुविधासम्पन्न बनाउनेतर्फ सम्बन्धित निकायको ध्यानाकर्षण गराइन्।

विमानस्थलमा राखिएको महाकरूणा बुद्धमूर्ति करिब दुई अर्ब ५० करोड बराबरको लागतमा बहुमूल्य धातुबाट बनेको हो । उक्त बुद्धमूर्ति लुम्बिनी गार्डेन फाउण्डेसनले नेपाल सरकारलाई हस्तान्तरण गरी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राखेको जनाएको छ।

सो बुद्धमूर्ति म्यान्मारस्थित खानीसम्बन्धी कम्पनी मालबिन ग्रुपले स्पेनको लुम्बिनी गार्डेन फाउण्डेसनलाई दिएको हो । एक हजार ८०० केजी तौल भएको बुद्धमूर्ति १.९ मिटर उचाइ र ६० सेन्टिमिटर चौडाइको रहेको बुद्धमूर्ति लुम्बिनी गार्डेन फाउण्डेसनले जनाएको छ ।

बहुमूल्य धातु ‘ह्वाइट जेड’ बाट बनेको बुद्धमूर्ति म्यान्मार, हङकङ, भारत हुँदै कोलकाता बन्दरगाहबाट कात्तिक ४ गते भैरहवा ल्याएको थियो।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार