सल्यान बस दुर्घटनामा मृतकको संख्या १२ पुग्यो, २ जनाको सनाखत

 

सल्यान । सल्यानमा आज बिहान भएको बस दुर्घटनामा मृत्यु हुनेका संख्या १२ पुगेको छ । मृत्यु हुनेमा १० महिला र २ पुरुष रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सल्यानका डिएसपी गोविन्द थापाले बताएअनुसार मुत्यु हुने दुई जनाको सनाखत भएको छ । जसमा सल्यानको छत्रेश्वरी गाउँपालिका-२ का तिलक वली र घोहरी उप महानगरपालिका नारायणपुरका इन्द्रा भण्डारी रहेका छन् ।

घाइते मध्ये १७ जनाको अवस्था गम्भीर र १० जना सामान्य अवस्थामा रहेको डिएसपी थापाले बताए । घाइतेहरुको सदरमुकाम खलंगामा उपचार भैरहेको छ । गम्भीर घाइतेहरुलाई हेलिकोप्टरमार्फत थप उपचारका लागि नेपालगञ्जतर्फ लैजाने तयारी भैरहेको डिएसपी थापाले बताए ।

सल्यानको जयपानीबाट दाङको तुल्सीपुरतर्फ जाँदै गरेको रा १ ख २५५२ नम्बरको बस कपुरकोट गाउँपालिका–५ खारखोलामा आज बिहान करिब ११ बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी ८ जनाको घटना स्थलमै र अन्यको उपचारका क्रममा मृत्यु भएको सल्यान प्रहरीले जनाएको छ।

बस दुर्त गतिमा रहेको र जीर्ण सडकका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ । बस सडकबाट करिब २ सय मिटर तल खसेको थियो । बसका चालक भने अझै फरार रहेकाले खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

बसमा सवारहरू अधिकांश भाइटीका सकेर फर्किएकाहरू रहेको प्रहरीले बताएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार