सल्यान बस दुर्घटना अपडेटः मृतक १२ मध्ये ९ जनाको सनाखत


सल्यान । सल्यानमा आज बिहान भएको बस दुर्घटनामा परी मृत्यु भएका १२ जनामध्ये ९ जनाको सनाखत भएको छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानका डिएसपी गोविन्द थापाले बताएअनुसार मृत्यु हुनेमा सल्यानको छत्रेश्वरी गाउँपालिका–१ का तिलक वली, सल्यानकै शारदानगर नगरपालिका–२ कि प्रभा चलाउने, सोही ठाउँकी ६५ वर्षकी मीना डाँगी, दाङको बबई गाउँपालिका–६ कि ६० वर्षकी दैली चलाउने, बबई गाउँपालिका–५ कि ६५ वर्षकी कलादेवी बुढाथोकी, शारदा नगरपालिका–३ कि ३६ वर्षकी लीला बुढाथोकी, रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–१ कि मीना शाही, दाङको शान्तिनगर गाउँपालिकाकी सावित्रा केसी र घोराही उपमहानगरपालिका–१० कि ३६ वर्षकी रुपा केसी रहेका छन् ।

घाइते मध्ये १७ जनाको अवस्था गम्भीर र १० जना सामान्य अवस्थामा रहेको डिएसपी थापाले बताए । गम्भीर घाइतेहरुलाई हेलिकोप्टरमार्फत थप उपचारका लागि नेपालगञ्ज पठाइएको डिएसपी थापाले बताए । सामान्य घाइतेहरुको सदरमुकाम खलंगामा उपचार भैरहेको छ ।

सल्यानको जयपानीबाट दाङको तुल्सीपुरतर्फ जाँदै गरेको रा १ ख २५५२ नम्बरको बस कपुरकोट गाउँपालिका–५ खारखोलामा आज बिहान करिब ११ बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको छ । बसका चालक भने अझै फरार रहेको र खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार