
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रकाश सपुतको गीत ‘पीर’ को विषयमा मुख खोल्दै गीतलाई लिएर धेरै आवेगमा आउनु नपर्ने बताएका छन् ।
आज बिहान कैलालीको धनगढी पुगेका पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले पत्रकारहरुसंगको कुराकानीमा आफुले गीत नहेरे पनि मिडियामा थाहा पाएअनुसार त्यसको धेरै विरोध गर्नु नपर्ने आफुलाई लागेको बताएका हुन् ।
“मैले त्यो पूरै गीत हेर्न पाएको पनि छैन, म कार्यक्रममा दिनहुँ ब्यस्त भएर पनि । मिडियाबाट थाहा पाए अनुसार त्यसको धेरै विरोध गर्नु पर्ने जस्तो मलाई लाग्दैन् । मानिसहरुले आफ्नो अनुभव, आफ्नो अनुभूति अनुसार आफ्नो गीत कविता बनाउँछन्, नाटक बनाउँछन् । डिबेट त हुन सक्छ तर माओवादी आन्दोलनको एउटा पाटोको रुपमा कसैले चर्चा गर्यो भनेर धेरै हामी आवेगमा आउनुपर्ने म ठान्दिनँ,” प्रचण्डले भने ।
अध्यक्ष प्रचण्डले प्रकाश सपुतले सिर्जनात्मक ढंगले गीत बनाउने गरेको भन्दै उनको प्रशंसासमेत गरे ।
उनले माओवादी जनयुद्धलाई एउटा पाटोबाट मात्र हेरियो भने त्यो गलत हुने समेत बताए । सुपतको पिर गीतलाई लिएर माओवादी केन्द्रका चार भातृसंगठनले गीत तत्काल युटुबबाट हटाउनुपर्ने र माफी माग्नु पर्ने भन्दै विज्ञप्ती जारी गरेका छन् । यस गीतको पक्ष विपक्षमा अहिले सामाजिक संजाल निकै तातेको छ ।
यो भिडयो पनि हेरौं










