
काठमाडौं । एकीकृत समाजवादीले स्थानिय चुनावका लागि आगामी वैशाख ८ गतेभित्र उम्मेदवारी दिनेको नामावली टुंगो लगाउने भएको छ । चैत २६ र २७ गते बसेको समाजवादीको सचिवालय बैठकले वैशाख ८ गतेभित्र उम्मेदवारी दिनेको नामावली टुंगो लगाउने निर्णय गरेको हो ।
बैठकले गरेको निर्णयअनुसार वडा कमिटीले यही चैत्र ३० गतेभित्र सिफारिस गरिसक्नुपर्ने छ भने पालिका कमिटीले आगामी वैशाख २ गतेभित्र निर्णय र सिफारिस गरिसक्ने, जिल्ला कमिटीले वैशाख ४ गतेभित्र निर्णय र सिफारिस गरिसक्नुपर्नेछ । यस्तै प्रदेश कमिटीले वैशाख ६ गतेभित्र निर्णय र सिफारिस गरिसक्ने तथा केन्द्रीय कमिटीले वैशाख ८ गतेभित्र निर्णय गरिसक्ने महासचिव बेदुराम भुसालद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
बैठकले उम्मेदवार छन्ने सम्बन्धमा ८ वटा मापदण्ड समेत निर्धारण गरेको जनाएका छ। जसमा पार्टी नीति र कार्यक्रमप्रति प्रतिबद्ध रहेको, पार्टीमा योगदान गरेको र विद्रोहमा भूमिका खेलेको, पार्टीप्रतिको निष्ठा र अनुशासनमा दृढ, आर्थिक एवं नैतिक आचरण राम्रो रहेको, जनतामा स्थापित एवं लोकप्रिय, स्वच्छ छवि भएको र सुशासनको पक्षपाती, कार्यक्षमता राम्रो भएको हुनुपर्नेछ उल्लेख छ । यस्तै उम्मेदवार छान्दा समावेशीतालाई समेत उच्च प्राथमिकतामा राखिने समाजवादीले जनाएको छ ।
त्यस्तै, बैठकले पार्टी अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा १ हजार एक सय ११ सदस्यीय मूल निर्वाचन परिचालन कमिटी गठन गरेको छ । बैठकले महासचिव भुसालको संयोजकत्वमा निर्वाचन परिचालन केन्द्रीय सचिवालय समेत गठन गरेको छ ।











