
काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले प्रचण्डकी छोरीका रुपमा जन्मिनुबाहेक रेनु दाहालको कुनै गल्ती नभएको बताएका छन् ।
सत्तारुढ गठबन्धनले आज काठमाडौंमा गरेको चुनावी सभालाई सम्बोधन गर्दै सभापति देउवाले रेनुले भरतपुरमा मेयर भएर धेरै राम्रा कामहरु गरेको भन्दै उच्च प्रशंसा समेत गरेका हुन् । रेनु प्रचण्डको छोरी भएकै कारण विरोध गर्नुको कुनै औचित्य नभएको उनको भनाई छ ।
रेनुलाई आफुले नै दोस्रो पटक मेयर पदको उम्मेदवारमा प्रस्ताव गरेको देउवाले खुलासा गरेका छन्।
सभापति देउवाले भरतपुरको मेयरमा रेनुलाई नउठाउन माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड तयार रहेपनि आफुले नै राम्रो काम गरिरहेको रेनुलाई किन नउठाउने भन्दै उम्मेदवार बनाएको प्रष्ट पारे ।
‘प्रचण्ड जीलाई हामी सबैले तपाईंको छोरी रेनुलाई अब नउठानुस् भनेको भए उहँ मान्न तयार नै हुनुहुन्थ्यो । तर, भरतपुरमा राम्रो काम भएको छ, राम्रो काम गरिरहेकोलाई किन हटाउनु भनेर मैले प्रस्ताव गरेको हुँ, राम्रो काम गरेको मान्छे, त्यसमा पनि महिलालाई किन रोक्नु ? उम्मेदवारी दिनुस् भनेर मैले नै भनेको हो’, देउवाले भने । रेनुका बिषयमा भरतपुरमा अनावश्यक बखेडा नझिक्न पनि देउवाले आग्रह गरे ।
काठमाडौं महानगरको मेयरमा गठबन्धनकै साझा उम्मेदवारका रुपमा काँग्रेसबाट सिर्जना सिंहलाई जसरी पनि जिताउनु पर्ने उनले बताए । मेयरका उम्मेदवार सिंहलाई जिताउन देउवाले काठमाडौंवासीसंग भोट पनि मागे । सिर्जना र रेनुलाई उम्मेदवार बनाउन आफूले भनेको देउवाको भनाइ थियो ।
प्रचण्डको छोरी भएर जन्मिनु रेनुको र प्रकाशमानकी श्रीमती हुनु सिर्जनाको गल्ती नभएको सभापति देउवाको भनाइ थियो।
यहि वैशाख ३० गते हुन लागको स्थानिय तह निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवारलाई देशैभरी इमानदारीका साथ भोट दिएर जिताउन उनले सबैमा आग्रह गरेका छन् ।










