बालेनको हार्ने र जित्ने दावी गर्दै खसी बाजी राख्ने युवा पक्राउ

खोटाङ । काठमाडौं मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहले हार्ने र जित्ने भन्दै खसी बाजी राख्ने दुई युवालाई खोटाङमा प्रहरीले पक्राउ गरेको छ । बालेनको जित र हारलाई दावी गर्दै २८ किलोको खसी वा सो बराबरको रकमको बाजी राखेर लिखित कागज गरेका खोटाङको मझुवागढी नगरपालिका वडा नं-५ का विजय फुँयाल र रमेश खड्कालाई प्रहरीले पक्राउ गरेको हो ।

उनिहरुले बाजी राखेको लिखित कागज समेत हिजो बाहिरिएपछि प्रहरीले आज उनिहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी उमेश लम्सालले बताए । बाजी राख्दा फुँयालले ‘बालेनले जित्छ’ भन्ने दावी गरेका छन् भने खड्काले ‘हार्छ’ भन्ने दावी गरेका।

बालेनले जितेमा खड्काले फुँयाललाई २८ किलोको खसी दिने र बालेनले हारेमा फुँयालले खड्कालाई २८ केजीको खसी बराबरको रुपैया दिने साँछीसहितको कागजमा उल्लेख छ । दुई युवाले अन्य तीन जनालाई रोहबर राखेर लिखित कागज गर्दै बाजी राखेका थिए । उनिहरुबीचको खसी बाजी राखेको कागज सामाजिक सञ्जालमा भाइरल भएको थियो । कुनैपनि विषयमा यसरी नगद वा जिन्सीको बाजी राख्नु कानुन विपरीत मानिन्छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार