
काठमाडौँ । इन्धनको मूल्यवृद्धिमाथि संसद्मा छलफल गर्न माग गर्दै जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गरिएको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र राप्रपाका सांसदले पेट्रोलियम पदार्थ, इन्धन र खाना पकाउने ग्यासको मूल्यवृद्धिमाथि संसद्मा छलफल गर्नुपर्ने भन्दै आज प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराएका हुन्।
जरुरी सार्वजनिक महत्वको प्रस्तावको प्रस्तावकमा एमालेका मुख्य सचेतक विशाल भट्टराई रहेका छन् । समर्थकमा एमालेका यज्ञराज सुनुवार र गणेश पहाडी एवं राप्रपाका राजेन्द्र लिङ्देन रहेका छन् ।
पेट्रोलियम पदार्थको मूल्य हप्तामा दुई पटक बृद्धि गरिएको भन्दै यसलाई फिर्ता गर्नुपर्ने दवाव सरकारमाथि परिरहेको छ ।
मुल्यवृद्धि अनुसार खाना पकाउने ग्यासमा एकैचोटी रु २ सय र इन्धनमा प्रतिलिटर रु १० वृद्धि भएको छ । मृल्यवृद्धिले सर्वसाधारणलाई सास्ती दिएको भन्दै उपभोक्ताहरुले काठमाडौं लगायतका ठाउँमा विरोध प्रर्दशनहरु भइरहेका छन् ।











