
काठमाडौ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले दक्षिणपन्थी र देश विखण्डन गर्ने शक्तिसँग साँठगाँठ गरेर चुनाव लडिरहेकाले जनता होसियार हुनुपर्ने बताएका छन् ।
आज काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री रहेका नेपालले ओलीले दक्षिणपन्थीहरु, राजा आउ देश बचाउ र देश विखण्डन गर्छु भन्नेहरुसंग चुनावी साँठगाँठ गरेकाले जनता होसियार हुनुपर्ने बताएका हुन् ।
अध्यक्ष नेपालले ओली सरकारमा हुँदा उनले जनताबाट निर्मित संविधान कुल्चेर जनताको थलो संसदलाई नै दुई दुई पटक विघटन गरेकाले फेरी जनतासंग मत माग्ने नैतिकता नभएको बताए । स्थानिय तह चुनावमा आफुहरुले ओलीलाई ठुलै धक्का दिएपछि उनि अहिले राजावादी र देश विखण्डन गर्छु भन्नेहरुसंग मिलेर चुनाव लड्नुपर्ने अवस्थामा पुगेको दावी गरे ।
अध्यक्ष नेपालले ओलीलाई आफूले टक्कर दिएपछि ओली अहिले बोलाए जसरी जथाभाबी बोल्न र बर्बराउन थालेको समेत बताए ।
‘हामीले राम्रै गरी टक्कर दिइसकेपछि अहिले तपाईंहरुले देखिरहनुभएको छ, बौलाएको, के के बोल्छन्, बर्बराएर के के उट्पट्याङ कुरा गर्छन्’, उनले भने ।
अध्यक्ष नेपालले ओलीले बोलेका सबै भ्रामक, उट्पट्याङ र गाली गलोजलाई संकलन गर्नुपर्ने बताए ।
उनले मंसिर ४ मा हुने चुनावमा सत्ता गठबन्धनका उम्मेदवारलाई देशैभरीबाट जिताएर दक्षिणपन्थी र विखण्डनकारीहरुलाई परास्त गर्न आग्रह समेत गरे ।










